धनगढी बजार जलमग्न, सुदूरपश्चिमको अधिकांश मन्त्रालाय डुबान

धनगढी, २६ साउन । लगातार दुई दिनको बर्षाका कारण धनगढी उपमहानगरपालिका जलमग्न भएको छ । सुदूरपश्चिम प्रदेशको अधिकांश मन्त्रालयपनि डुवानमा परेका छन्।

सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुदूरपश्चिम प्रदेश सभा वरिपरिपनि जलमग्न भएका छन् ।

धनगढीको क्याम्पस रोड, धनगढी गाउँ, शिवनगर, एलएनचोक, पार्कचोक, बिशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, चटकपुर लगायतका अधिकासं क्षेत्र जलमग्न छन् ।

क्याम्पस रोड सद्भावना टोलका दर्जनौं घर डुबानमा परि त्यहाँका स्थानीय विस्थापीत भएका छन् । घरमा पानी पसेर कोठा खोज्न बाध्य भएको ६० वर्षीया भागुन्दत्त चौधरी बताए ।

उनले आफू बस्दै आएको टोल पूर्णरुपले डुवान भएपछि आफन्त कहाँ गएर बस्न थालेको बताए । पाँचवटा घरमा त बस्नै नमिल्ने गरि पानी पसेको बताए ।

यस्तै बिशालनगरमा आधा दर्जन भन्दा बढि परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताए। उनले घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्नुपरेको बताए। सबैभन्दा बढि धनगढीको बजार क्षेत्र र वरपर रहेका वडामा डुवान भएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घरमा पानी पसेको बताए । बजार क्षेत्र पनि जलमग्न छ ।

उनले भने ‘पानी पसेपछि ५५ घरमा क्षती पुगेको छ। बाँकी क्षतीको बिबरण आउन बाँकी छ ।’

धनगढीमा धेरै खोलानाला अतिक्रमणको चपेटामा छन् । धनगढीमा सडकको पानी निकासका लागि बनाईएका नालीबाट पनि पानी निकास नभएपछि धनगढी क्षेत्र डुवानमा परेको हो ।