कैलालीमा पनि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु हुने
धनगढी, २२ साउन । गृह मन्त्रालयको निर्देशनपछि कैलाली जिल्लामा पनि आजदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने बताइएको छ । साथै रातिको समयमा आवागमन बन्द गर्ने निर्णय भएको छ।
जिल्लाभरी नै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएकोमा कैलालीमा पनि लागु हुने प्रजिअ बोहराले बताए।
‘कैलाली जिल्लामा दुई सय भन्दा बढि एक्टिभ केस छन्,’ प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘जोरबिजोर प्रणाली र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय पूर्ण रुपमा कार्यान्वयन हुन्छ।’
अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए। सुदूरपश्चिम प्रदेशमा दुई सय भन्दा बढि सक्रिय संक्रमित कैलालीमा छन् । सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले बुधवार सार्वजनिक गरेको तथ्याङक अनुसार कैलालीमा ६ सय ७० संक्रिय संक्रमित छन् । गृह मन्त्रालयले बुधवार एक सूचना निकालेर जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने जनाएको छ।













