क्वारेन्टाइन व्यवस्थापनमा खटिएका तीन जनामा कोरोना पुष्टि
कैलाली, २१ साउन । पछिल्लो अवस्थामा कोरोना संक्रमण समुदाय स्तरमा समेत देखा पर्न थालेको छ । कैलालीको कैलारी गाउँपालिका–१, स्थित दीपेन्द्र माविको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका व्यक्तिहरुमा संक्रमण देखिए पछि समुदाय स्तरमा कोरोना फैलि सकेको स्थानीयहरुको अनुमान छ ।
क्वारेन्टाइनको ल्याबमा काम गर्ने एक स्वास्थ्यकर्मी, खाना पकाउने भान्से र चौकीदारकोमा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनको आइसोलेसनमा राखिएका संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।
कैलारी गाउँपालिकाको क्वारेन्टाइनमा कार्यरत कर्मचारीहरुको परीक्षण गर्दा एकै दिन तीन जनामा कोरोना संक्रमण देखिएको कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष कमल प्रसाद चौधरीले बताए । उनले संक्रमित तिनै जनालाई दीपेन्द्र माविकै आइसोलेसनमा राखिएको जानकारी दिए ।
पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमण तीव्र बनेको छ । संक्रमितहरु भारतलगायत विदेशबाट फर्केकाहरुमा मात्रै छैनन्, यात्रा नगरेका व्यक्तिमा समेत कोरोना देखिन थालेको प्रवक्त चौधरी बताए । यसले कोरोना संक्रमण समुदाय स्तरमा फैलन थालेको संकेत देखाएको छ ।
कैलारी गाउँपालिकामा मंगलबार सात जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये चार जनाको ‘ट्राभल हिस्ट्री’ नरहेको खुलेको छ ।
समयमै सतर्क नरहे कोरोना संक्रमण समुदायमा पनि व्यापक रुपमा फैलने जोखिम देखिएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा इन्चार्ज विरेन्द्र सापकोटाले बताए । उनले सुदूरपश्चिममा हालसम्म देखिएका संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरु बताए । तर पछिल्ले केही दिन यता ‘ट्राभल हिस्ट्री’ नरहेको व्यक्तिमा पनि कोरोना पुष्टि भईरहेकोले सबैलाई सचेत हुन आग्रह गरे ।
केही दिन यता सुदूरपश्चिमको विभिन्न नाका भएर भारतबाट फर्किनेहरुलाई सिधै घर पठाउन थालिएको छ । जुन कारणले जोखिम एकदमै बढेको देखिन्छ । यसअघि भारतबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउने गरिएको थियो ।
स्थानीय तहहरुले सिधै घर पठाउन थालेपछि प्रदेश स्वास्थ्य निर्देशनालयले पत्रनै पठाएर क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ । सरकारले विदेशबाट फर्कनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।
सुदूरपश्चिममा ४ हजार ८३८ संक्रमित मध्ये ३ हजार २९१ डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यू भईसकेको छ ।













