कैलालीमा बाढीको वितण्डाः घरबार विहिन बनेका स्थानीको सडकमा बास

कैलाली, १७ साउन । कैलालीको भजनी नगरपालिका–६ नवलपुरकी ४० वर्षीया ललिता चौधरीको परिवारले खाना खान नपाएको तीन दिन भइसक्यो। अविरल वर्षाका कारण आएको बाढीले वितण्डा मच्चाएपछि आफू जोगिनु कि अन्न जोगाउनुको अवस्था भएपछि आफू र लालाबाला जोगाउन लागि परिन् ललिता।

बाढीले घर डुबाएपछि उनलाई बालबच्चा र सासुससुरालाई सुरक्षित स्थानतर्फ ओर्सार्नै ठिक्क भयो, अलिकति जोहो गरेर राखेको अन्नपाताम ध्यानै दिन पाइनन्।

“घरभित्र पसेको बाढीले धान राख्ने डेहरी ९भकारी० भत्कियो, अन्न बग्न थाल्यो। छिमेकीहरूको सहयोगले आलकिति अन्न उतार्न सक्यौं। बाँकी सबै बगायो,” ललिताले आँखाभरी आँशु बनाउँदे सुनाइन्।

बाढीले उनको अन्न सँगै लुगा कपडा र भाडा बर्तन पनि सबै बगायो। बाढीको वितण्डाले ५(६ वर्षका दुईजना नाती र बुढा सासु(ससुरा पनि दुई दिनदेखि भोकै छन्। बाढी त यसअघिका वर्षहरूमा पनि आउँथ्यो, तर यसरी बिजोग बनाएर जाँदैन थियो। “यो वर्ष आयो, रुवाएर गयो,” ललिता आफूभन्दा बढी बुढा सासु-ससुरा र नातीहरूको भोक देखेर विक्षिप्त छिन्।

उनको छोरा टीकापुर घटनामा जेल जीवन बिताइरहेका छन्। खाने र लगाउने त परकै कुरा भयो बस्ने घर पनि बाढीले बगाएपछि ललिताको परिवार तीन दिनदेखि सडकमा बास बसिरहेको छ।

यो कष्ट कैलालीका बाढी पीडितको प्रतिनिधि घटना मात्रै हो।

भजनी नगरपालिका–८ जागा टोलका ३० वर्षीया सहेरुनी निसाको पनि दुई बच्चासहित सडकमै बास भइरहेको छ। शरिर ढाक्ने लुगा बाहेक उनीसँग बाँकी केही छैन।

“पल्लो घरबाट मागेर ल्याएको डेक्चीले सडकमा चाउचाउ पकाएर केटाकेटीलाई खुवाएँ। रातभर पानी पर्छ, कहाँ लगेर ओत लाउने हो केही मेसो पाएकी छैन,” उनले सुनाइन्।

कन्द्रा नदीको किनारमा रहेको यो बस्तीमा जतिसुकै बेला बाढी पस्न सक्छ। देखेर पनि उनीहरूले गर्नसक्ने कुनै विकल्प छैन, कारण सरेर जाने जग्गा छैन।

बस्तीका धेरैले बाढीबाट आफ्नो ज्यान त जोगाए तर शरिरमा भएको लुगा बाहेक केही जोगाउन नसकेका उनीहरू त्यही ज्यान पाल्न के खाने भन्ने चिन्तामा छन्।

नजिकैको खैराका पुन्सी लामा दोस्रो दिन रोडमा आएर बाढी हेर्दै बसेकी थिइन्। हेर्दाहेर्दै घर पसल बाढीले निमेषमै बगरमा परिणत भयो। तर गर्न सकिने केही थिएन, उनी आफ्नै कन्त बिजोग हेरेर बस्न बाध्य भइन्।

उनले पनि पेट भर्न चाउचाउ र बिस्कुटको भरपर्नु परेको छ। तर अहिलेसम्म राज्यका कुनै निकाय पनि उनीहरूको खबर बुझ्न बस्तीमा आइपुगेका छैनन्। दुई दिन बितिसक्दा पनि कोही नआउँदा उनीहरू राज्य छ कि छैन भनेर आफैसँग प्रश्न गरिरहेका छन्।

बस्तीको बीचमा एउटा मात्रै पक्कि घर छ। वरपरका खेतमा पसेको बाढीले बस्तीलाई सागरजस्तो देखाएको छ। पक्कि घरको छतमा त्रिपाल बसेका मान्छेलाई सडकबाट हेर्न मात्रै सकिन्छ, न उनीहरू सडकमा आउन सकेका छन्, न त सडकका मान्छेहरू उक्त घरसम्मै पुग्न सकेका छन्।

त्यसबाहेक धेरै मान्छे बाढीका कारण सम्पर्कविहिन भएका छन्। गाउँमा विद्युत सेवा अवरुद्ध छ। स्थानीयसँगको मोबाइल सम्पर्क टुटेको छ। ती बस्तीहरूमा भएको क्षतिका बारेमा अझै यकिन गर्न सकिएको छैन।

भजनी नगरपालिका ८ का सुनाहाफाँटा, गोरचौरा, खैरा कृष्णनगर, जनकपुर, महादेउली लगायतका गाउँ बाढीबाट अति प्रभावित छन्। स्थानीयहरू विद्यालय, हुलाकी सडक, पक्की घरको छतजस्ता ठाउँमा रात कटाउन बाध्य छन्।