बाढीले छ हजार घर डुवानमा, ३ जना बेपत्ता

धनगढी, १४ साउन । कैलालीमा बुधबार आएको बाढीले छ हजार ३२० घरपरिवार डुवानमा परेका छन् भने ३ जना बेपत्ता भएका छन् ।

कर्णाली, पथरैया, काँढा, कान्द्रा, मोहना लगायतका नदीमा आएको बाढीले जिल्लाको पूर्वी क्षेत्रमा डुबान भएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार जोशीपुर गाउँपालिकामा दुई हजार ३१५ घर, भजनी नगरपालिकामा दुई हजार १८०, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८२५ घरपरिवार प्रभावित भएको बताए ।

यस्तै बाढीबाट अतिप्रभावित क्षेत्र भजनी नगरपालिका– ८ सोनाफाँटा क्षेत्रका सोनाफाटाका ठग्गु चौधरीको ११ बर्षको छोरा स्केल चौधरी, इश्वर शाही र चक्र बिक बेपत्ता भएका बताइएको छ ।

सानाफाटाकै हेमन्त शाही, बल बहादुर चौधरी र बिक्की शाही बाढीले बगाएर रुखमा अड्केपछि उनीहरुको उद्धार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । भजनी नगरपालिकाका डुबानमा परेका प्रभावितहरुलाई नजीकैका बिद्यालय र हुलाकी राजमार्गमा राखिएको जोशीले बताए ।