कालिकोटमा पहिरोमा परी ९ को मत्यु
कालिकोट, १४ साउन । कालिकोटको नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ४ र ७ मा गए राति पहिरोले घर पुर्दा ९ जनाको मृत्यु भएको छ।
गाउँपालिकाको वडा नम्बर ७ मा पहिरोले घर पुर्दा एकै परिवारका ७ जनाको मृत्यु भएको जनाइएके छ । मृत्यु हुनेमा गंगे बुढा (६२) उनकी श्रीमती नैना (६१), छोरी विमला (१८), बुहारी उषा (२४), नातिनी चन्द्रिका (१०), नातिहरु राम (७) र डेढ वर्षका चरित्र बुढा रहेको प्रहरीले जनाएको छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने विमलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्याम ओलियाले बताए ।
यस्तै, सोही गाउँपालिकाको वडा नम्बर ४ मा पनि अर्को घर पुरिंदा बाले बुढा र उनकी श्रीमती मनाको मृत्यु भएको छ।
सदरमुकामबाट एक दिनको पैदलमा पर्ने सो ठाउँमा इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी टोली खटिएर उद्धारको काम गरिरहेको प्रहरीले जनाएको छ।
गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टका अनुसार, उद्धारका साथै जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। हिमालखबरबाट













