अविरल वर्षाले कैलालीको पुर्वी क्षेत्र जलमग्न, सयौं घर डुवानमा (तस्वीरसहित)
कैलाली, १४ साउन । अविरल वर्षापछि आएको बाढीले कैलालीको पुर्वी क्षेत्र डुबानमा परेको छ । जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका डुबानमा परेका हो ।
वर्षका कारण सयौं घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए छ । यस्तै धनगढी उपमहानगरपालिका क्षेत्र भित्रका कयौं घर डुबानमा परेको पनि बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतीक बिष्टका अनुसार जिल्लाको भजनी, जोशी र टीकापुर क्षेत्र जलमग्न भएको छ । भजनी नगरपालिकामामात्रै १२० भन्दा बढी घर डुबानमा परेको छ ।

सो नगरपालिका वडा नम्बर ५ स्थित जबलपुर गाउँका ५०/६० घर डुबानमा परी जोखिम बढेपछि घरमा बसेका सबै मान्छेलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । यसैगरी, भजनी नगरपालिका–२ र ३ स्थित मोहनपुर, ढुसी र काँढा गाउँमा काँढा नदीको बाढी पसेर करिब ६० घर डुबानमा परेको छ ।
जोशीपुर गाउँपालिकामा ३० घर डुबानमा परेको उनले जानकारी दिए । घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएको भजनीका स्थानीय प्रेम चौधरी बताए । उनले भने ‘घर भित्र पानी पसेर अन्न लुगा कपडा सबै बगायो ।’ मान्छेलाई सुरक्षित स्थानमा राखिरहेका छौं तर भेडा बाख्रा लगायत जनावरहरु धेरै बगिसके ।
त्यस्तै, जोशीपुर क्षेत्र रातीदेखि नै जलमग्न भएको स्थानीय सुरेन्द्र चौधरीले बताए । उनका अनुसार स्थानीयहरु आफै आफै उद्धारमा खटिरहेका छन् । अविरल वर्षापछि कर्णाली, कान्द्रा, काँडा, पथरैया, मोहना, खुटिया, घुराहालगायत नदीमा पानीको बहाव बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा बर्षा भईरहेको छ ।
















