थारू समुदायमा मनाउने वर्षको पहिलो तिहुवार ‘गुरही’

भूमिका

संस्कृति हरेक समुदायको आफ्नो मौलिक पहिचान हो । कुनै पनि जातिको जातीय पहिचान कला, संस्कृति र भाषासंग जोडिएको हुन्छ । थारू समुदायमा पनि यस्ता धेरै संस्कृतिहरू रहेको छन् । जुन अहिले प्रायः लोप हुने अवस्थामा छन् । समय, काल र ऋतु अनुसार थारू समुदायमा धेरै चाड पर्वहरू मनाउँछन् छन् । जस मध्ये थारू समुदायको एक महत्वपूर्ण पर्व हो ‘गुरही’ । यो पर्व विशेषतः पश्चिमा थारूहरूले मनाउने गर्दछन् । कैलाली जिल्लाका थारुहरुले विगत १० वर्षदेखि धनगढीमा यो पर्व संस्थागतरुपले मनाउँदै आईरहेका छन् । गुरही पर्वलाई पनि संस्थागत हुन नदिन विगत केही वर्ष अगाडी विभिन्न चलखेल भयो । गैर थारुहरुको भित्तेपात्रोमा समेत अन्यौलको स्थिति सिर्जना भएको हामीसंग यथार्थ छ ।

के हो गुरही ?

‘गुरही’ थारू समुदायको एक पर्व हो । यसलाई धेरैले महामारी ढपाउने पर्वको रूपमा पनि लिन्छन् । यो पर्व साउन महिनाको शुक्लपक्षको पञ्चमीको दिन पर्दछ । यसैदिन हिन्दूहरू नामपञ्चमी मनाउँछन् भने थारु समुदायमा ‘गुरही’ । जुन कारण नागपञ्चमी र गुरही एउटै हो भन्ने धेरैको बुझाई पनि छ । तर यो संयोग मात्रै हो वास्तविकता होइन । थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै सामाजिक मूल्य र मान्यता छ भने नागपञ्चमीको आफ्नै ।

थारू समुदाय प्रकृति पुजक अथवा प्राकृत धर्म समूह भित्रको एक जाति हो । यीनीहरु प्रकृति प्रतिविश्वास गर्ने समुदाय हु्न् । मिश्रित बसाईका कारण एक अर्काका धर्म, आस्था र संस्कृतिप्रति सद्भाव तथा समान व्यवहारका कारण अन्य समुदायका सांस्कृतिक प्रभावले कतिपय संस्कृतिहरू थारू समुदायको लागि मौलिक भइसकेको छ । जस्तै रक्षाबन्धन, भाईटीका आदी ….।

‘गुरही’ पर्व एक गुरही नामको किरा (गाईने) संग जाडिएको छ । गुरही एक प्रकारको उड्ने किरा हो । यसले मच्छर, भुस्ना लगायत शुक्ष्म किराहरूलाई खाने गर्छन् । यिनीहरूको संरक्षणले मच्छर (लामखुट्टे) र भुस्ना लगायत किराहरूको कमी हुने रोगव्याधी महामारी गाउँमा प्रवेश नगर्ने बैज्ञानिक धारणा छ । यिनै किराहरूको पूजाले धानमा लाग्ने किरा फट्यांग्रा, लुटो, खटिरा जस्ता महामारी रोग व्याधीहरू कम हुने जनविश्वास थारू समुदायमा छ ।

कसरी मनाइन्छ गुरही पर्व ?

शुल्कपक्षको चौथीको दिन गाँउका चौकीदरले गाउँमा हाँक हाल्छ । ‘घुघरी भिजाउ रे घुघरी भिजाऊ’ । गाउँमा सबैको घरमा चना, केराउको घुघरी (कोहरी, चानक वा केराउको एक विशेष प्रकारको परिकार) भिजाउँछन् । अर्को दिन पञ्चमीको दिन साँझ चना वा केराउ पकाउँछन् । यता चौकिदारले पुनः हाँक हाल्छ । ‘गुरही अस्राई चालो रे, गुरही खस्राई ।’ हाँक पछि गाउँका सबै घरका स–साना बालिकाहरू कपडाका टुक्राको गुरहीको प्रतीकको रूपमा गुडिया, चनाको घुघरी (चनाको एक बिशेष परिकार) चना नभए केराउ अथवा मकै (घुघरी) र केटाहरू सोँटा (कोंर्रा) लिएर थारु पहिरनमा सजिएर गाउँको दक्षिण चोकमा जमा हुन्छन् । सेलाउने बेला लैजा, महामारी जस्ता रोग सबै लैजा, रोगव्याधी सबै लैजा भन्दै गुरहीसंगै रोगव्याधी पठाउन आउँछन् ।

यसरी भयो गुरही पर्व संस्थागत

थारु समुदायमा राम्रा–राम्रा कला संस्कृति छन् । जुन संस्कृति अन्जान व्यक्ति एक पटक हेर्यो भने मख्ख पर्छ । थारु समुदायमा विभिन्न खाले नाँचहरु छन् जस्तै सखिया, मुग्रहुवा, झुम्रा, मघौटा, दिननचुवा आदी । तर पछिल्लो अवस्थामा यी सबै नाचलाई लोप गर्ने उदेश्यले यो या त्यो नाममा हस्तक्षेप भईरहेको छ । थारु समुदायको कला संस्कृति केवल थारुहरुको मात्रै नभएर हामी सबै नेपालीहरुको हो भन्ने उदेश्यले १० वर्ष अगाडी थारु पत्रकार संघको पहलमा थारुसंग सम्बन्धित संघसंस्थाको अगुवाईमा धनगढीमा गुरही मनाउन शुरु गरियो ।

पहिल पहिला थारु गाउँमा मात्रै गुरही पर्व मनाउथे तर विगत १० वर्षदेखि यता धनगढीमा पनि छरिएर बसेका थारुहरु संयूक्तरुपले गुरही मनाउने थाले । जुन पर्व हाल आएर संस्थागत भईसकेको छ ।

थारु समुदायले गाउँ–गाउँमा मनाउदै आएको चाड पर्वहरुलाई संस्थागत गर्न पछिल्लो केही वर्ष यता धनगढीमा सामुहिकरुपले गुरही, चिरै भजहर, अष्टिम्की, अँट्वारी, माघ, हरेरी पुजा लगायत पर्वहरु भव्यरुपले मनाईरहेका छन् । यो पर्व मनाउदै गर्दा हरेक वर्ष थारु सम्बद संघसंस्था, थारु अगुवा, बुद्धिजीवि, नागरिक समाज, सखी सञ्जाल, थारु पत्रकारहरुको महत्वपूर्ण योगदान छ ।
पहिला पहिला चाड पर्व नजिक आउदै गर्दा हरेक वर्ष केही थारु अगुवाहरुको टीमले राज्यलाई ध्यानाकर्षण गराउनुपर्ने अवस्था थियो । सरकारले विस्तारै सम्बोधन गरिरहेको भान हुदैछ । किनकी थारु समुदायको संस्कृति समग्र नेपालको संस्कृति हो । र राज्य वफादारी हुनै पर्छ । थारु संस्कृति पनि राज्यको सम्पत्ति भित्र पर्दछ । यहि संस्कृति हेर्न बाह्रय पर्यटकहरु ललायत छन् । राज्य यसलाई ढिलो चाँडो व्यवस्थित गर्नुपर्दछ । पछिल्लो केही वर्ष यता स्थानीय सरकारले थारु समुदायको कला संस्कृतिको संरक्षण र सम्बद्र्धनकोलागि केही रकम विनियोजन पनि माग गरिरहेको छ ।

गुरही चोकको नमाकरण

धनगढी बजारको भूमि थारु समुदायले आर्जेको जमिन हो । विगत लामो समयदेखि नै धनगढीमा बसोबास भएका थारु समुदायका यूवा यूवतिहरुले क्याम्पस चोकमै गुरही कार्यक्रम मनाउदै आईरहेकोले थारुहरुको धेरै जसो कार्यक्रम क्याम्पस चोकमा नै हुने गरेको हुन्छ । थरुहट आन्दोलन हुदाँ थरुहट आन्दोलनकारीहरुको जमघर हुने ठाउँ क्याम्पस चोक थियो भने अखण्ड सुदूरपश्चि आन्दोलनकारीहरुको जमघट हुने ठाउँ एलएन चोक थियो । यसरी आन्दोलनबाटपनि क्याम्पस चोक थारु समुदायकै कुनै नाम दिएर नामाकरण गर्नुपर्ने निश्कर्ष निकालिएको थियो ।

टीकापुर घटनापछि पहिलो गुरही पर्व २०७३ मनाउने क्रममा तत्कालिन कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा क्यापस चोकलाई गुरही चोक भनेर विधिवत तरिकाले नामाकरण गरियो । तर हाल सम्म यहाँका प्रसाशनिक निकाय, स्थानीय सरकार भने गुरही चोकलाई मनदेखि अस्वीकार गरेको अवस्था छ । तर थारु अगुवा बुद्धिजीविहरु भने वर्षै वर्षदेखि सोही चोकमा गुरही मनाउदै आएको कारण सो चोकलाई गुरही चोकको नामाकरण दिईसकेका छन् ।

यो वर्ष कसरी मनाउने गुरही

यो वर्ष सामाजिक दूरी कायम गरी गुरही पर्व मनाउन सखी सञ्जाल कैलालीले सबैमा अनुरोध गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को भयाभह अवस्थालाई मध्यनजर गर्दै सखी संजालले यस वर्ष सामाजिक दूरी कायम गरेर, भिड्भाड नगरी आआफ्नै गाउँ घरको चोक चोकमा मनाउन विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

सखी सञ्जाल लगायत विभिन्न संघ संस्थाले बसेको बैठकले ‘आफू बचौं र अरु लाई पनि बचाउ,’ ‘सुरक्षित र स्वस्थ रहाै’ भन्ने भाव सहित सुरक्षित ढंगले गुरही मनाउन सबैमा अनुरोध गरेको हो । गुरही सेलाउन आउने जो कोही मास्क अनिवार्य हुनुपर्ने, भिडभाड नगर्ने, सामाजिक दुरी कायम राखेर गुरही मनाउने योजना बनाएको छ ।