क्षेत्रिय शहरी विकास आयोजनाको निर्माण कम्पनी प्रारम्भिक चरणको काम शुरु
घनगढी, ५ साउन । क्षेत्रिय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी (कालिका कन्ट्रक्सन)ले प्रारम्भीक चरणको काम सुरु गरेको छ ।
कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलका अनुसार चौराहा देखि कैलाली नाला सम्मको सर्भेको काम पुरा भएको छ । त्यसैगरी गुल्म–चर्च सडकको सर्भे अन्तिम चरणमा रहेको र शहिद गेटदेखि क्याम्पस रोड सम्म ३ दशमलव ५ किलो मिटर मध्य २ दशमलव ५ किलोमिटर सर्भे भएको खरेलले बताए ।
क्षेत्रिय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीया र कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलले २८ असारमा सम्झौता गरेका थिए । सम्झौता पत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिन भित्रै सुरु गर्ने र दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ ।
एसियाली विकास बैंकको सहयोगमा संचालन भएको आयोजना अन्तरगत अन्य कामहरु सुरु भएपनि सडक र नाली निर्माणको काम अगाडी बढ्न सकेको थिएन ।
क्षेत्रिय शहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने सम्झौता भएकोछ । पहिलो चरणमा गुल्म–चर्च रोड (२ हजार ७ मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहा देखि–कैलालीनाला (१ हजार ३ सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल (७ सय मिटर), क्याम्पस रोड–चटकपुर (३ हजार ६ सय ५० मिटर) , धनगढी–खुटीया स्याउले रोड (८ सय ७० मिटर), मालपोत रोड (४ सय ३० मिटर र हसनपुर रोड (१ हजार १ सय ५० मिटर) रहेको छ ।













