कैलारी गाउँपालिकाको सार्वजनिक सुनुवाइ

हसुलिया, ५ साउन । कैलारी गाउँपालिकाको गत आर्थिक वर्ष २०७६/०७७ को सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ गरिएको हो । यसैगरी, सोही कार्यक्रममा चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पनि सार्वजनिक गरिएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र सामाजिक विकास शाखा अधिकृत यगम कलेलले गत आर्थिक वर्षको प्रगति र चालू आर्थिक वर्षको नीति, तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

गत आर्थिक वर्षमा बन्दाबन्दी र कोरोना भाइरसको महामारीका बाबजुद गाउँपालिकाले अधिकाङ्श योजना सम्पन्न गरेको कार्यक्रममा जनाइएको छ । आर्थिक र भौतिक प्रगति दुवै ९०/९० प्रतिशत भएको कार्यक्रममा जनाइएको छ । यद्यपि, कतिपय योजना लगायत लक्षित वर्गका केही कार्यक्रम सम्पन्न नभएको बताइएको छ ।

गत आर्थिक वर्ष २०७६/०७७ मा कैलारी गाउँपालिकाको जम्मा बजेट ९गैर सरकारी संस्थाको समेत गरेर० ५० करोड २९ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा १३ वटा विधेयक निर्माण गरिएकोमा १३ वटै गाउँ सभाबाट पारित भएको जनाइएको छ । यसैगरी, गत आर्थिक वर्षभित्रै साक्षर गाउँपालिका घोषणा गर्ने भनिएकोमा त्यो पूरा नभएको कार्यक्रममा जनाइएको छ ।

यस्तै, गाउँपालिकाको चालू आर्थिक वर्षको जम्मा बजेट ९गैरसरकारी संस्थाको समेत गरेर० ५२ करोड ४७ लाख १७ हजार रुपैयाँ रहेको छ ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले स्वागत गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, गाउँ सभा सदस्य, वडा सदस्य, स्थानीय व्यक्ति, कर्मचारी लगायतको सहभातिगा रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकाको दीर्घकालीन विकासका लागि सबैसंग समन्वय गरेर अगाडि बढ्ने बताए । उनले विश्वभरि महामारीको रुपमा देखा परेको कोभिड–१९ का कारण आर्थिक, सामाजिक, विकास निर्माण लगायतका सबै क्षेत्रमा असर परेको बताए । यसैगरी, कोरोना महामारी रोकथामका लागि क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनको क्रममा पनि ठूलो चुनौतीको सामना गर्नु पर्ने उल्लेख गरे ।

भूमि, वन र शिक्षाको क्षेत्रमा स्थानीय, प्रदेश र सङ्घबीच धेरै कुरा नमिलेको अध्यक्ष चौधरीको भनाइ थियो । ‘हामीलाई भूमि वितरणको अधिकार छैन’, चौधरीले थपे । यसैगरी, शिक्षा ऐन बनाउन पनि समस्या रहेको बताए ।

कार्यक्रममा नेकपाका बतासु चौधरीले गाउँपालिकाले धेरै राम्रो नीति तथा कार्यक्रम बनाएको उल्लेख गर्दै बजेट कार्यान्वयनमा भने समस्या रहेको बताए । ‘ल्याएको नीति तथा कार्यक्रम र बजेट राम्रोसंग कार्यान्वयन गर्न आवश्यक छ’, उनले भने ।

यस्तै, नेपाली काङ्ग्रेसका रमेश चौधरीले उपभोक्ता समितिहरु कार्यकर्तामुखी भएको आरोप लगाए । उनले सार्वजनिक कार्यक्रममा सबैलाई सहभागी नगराउने गरेको गुनासो गर्दै गाउँपालिकाको विकासका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको औंल्याए ।
गाउँपालिकाले नाफामुखी संस्थाहरुलाई अनुदान सहयोग गर्नु राम्रो नरहेको जिकिर गर्दै चौधरीले त्यस्ता सहयोग रोक्न आग्रह गरे । नेपालु चौधरी, प्रदेश सहकारीका अध्यक्ष उर्मिला चौधरीले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले गरेको थियो ।

कर्मचारी पुरस्कृत

कैलारी गाउँपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा योजना शाखा प्रमुख एवम् क्वारेन्टाइन संयोजक सन्तोषकुमार चौधरी, कविराज सुवास साह, अहेब सञ्जिब गुरुङ, अनमी उर्मिला जोशी रहेका छन् ।

यस्तै, हेल्थ असिस्टेन्ट कुसुम चौधरी, अहेब नाथुराम चौधरी, ल्याब असिस्टेन्ट सन्तोष चौधरी, वडा नम्बर २ का सचिव हिरा ठकुल्ला, चालक कुन्तेराम चौधरी र कार्यालय सहयोगी विक्रम चौधरीलाई पुरस्कृत गरिएको छ । उनीहरुलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइएको छ ।
यसैगरी, कोरोना रोकथाम तथा न्यूनीकरणको लागि रातदिन खटेका स्वास्थ्यका कर्मचारी, स्वयम् सेवक सबैलाई सम्मान गरिएको छ ।

यस्तै, नेपालु चौधरी, इन्दु चौधरी, रामकुमार चौधरी, शिक्षक जगन्नाथ चौधरी, आरडीआरसी लगायतलाई सम्मान गरिएको छ ।