सेफहाउस पाएर जिन्दगी पाए जस्तो छ : उप–प्रमुख चौधरी

कैलाली, ३ साउन । कैलालीको गौरीगंगा नगरपालिकामा यहि बैशाख ११ गतेदेखि हिंसा प्रभावितहरुकोलागि सेफहाउस सञ्चालनमा आएको छ ।

कोभिड १९ (कोरोना भाईरस) को कारण मुलुक बन्दाबन्दी भएकोबेला हिंसा प्रभावितहरुलाई सुरक्षित अवासकोलागि विभिन्न संघ संस्थाको पहल र गौरीगंगा नगरपालिकाको सहकार्यमा उक्त सेभ हाउस स्थापना भएको हो ।

सेभ हाउस स्थापना भएदेखि नगरपालिकाका उप–प्रमुख अञ्चला चौधरीले जिन्दगी नै पाएको अनुभति गरेको सुनाईन् । उनले हिंसा प्रभावितहरु कहाँ राख्ने ? भन्ने चिन्ताबाट मुक्त भएको बताईन् ।

दलित महिला अधिकार मञ्च नेपालले सेफहाउसमा आवश्यक सामाग्री वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । घरमा बस्ने वातावरण नभएका महिलाहरुलाई सेभ हाउस स्थापना भएपछि राहतको अनुभूति भएको छ ।

उनले भनिन् ‘घटना घटिसकेपछि प्रभावितहलाई तत्काल उद्धार गरेर व्यवस्थित ठाउँमा राख्न पाउँदा एकदमै सहज भएको छ । यसलाई व्यवस्थित बनाएर जिल्ला भरिका हिंसा प्रभावितहरुलाई सेवा दिन सक्ने बनाउनुपर्छ ।’ लगभग डेढ महिनाकै अवधिमा १८ जना प्रभावितहरु सेवा लिईसकेको उप–प्रमुख चौधरीले बताईन् ।

नगरपालिकाले सेभ हाउसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नगरसभाबाट पास गरि नीति तथा कार्यक्रममा राखिएको छ ।
दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा धिमिरेले सेफहाउसलाई व्यवस्थित बनाउन आवश्यक साम्रागी हस्तान्तरण गरेको बताईन् ।

उनले डिसिएको आर्थिक सहयोगमा संस्थाले ६ सेट (दस्ना, तन्ना, तकिया) विस्तरा, ६ लिटर सेनिटाईजर, २०० थान पन्जा, २०० थान माक्स, ६ थान सेम्फू, ११ थान गर्भवति जाँच किट, ६ थान तौलिया र १ थान टि.भी. हस्तान्तरण गरेको बताईन् । साथै संस्थाले दूई महिनाको घर भाडा र ६ महिनाको लागि एकजना परामर्श दाता (काउन्सिलर) दिएर सहयोग गरेको बताईन् ।

बन्दाबन्दीको बेला महिला हिंसाका घटनाहरु एकदमै बढ्ना थालेपछि ओरेक कैलाली र गौरीगंगा नगरपालिकाको सहकार्यमा उक्त सेफहाउस स्थापना भएको थियो । सो सेभ हाउसलाई निरन्तरता दिन दलित महिला अधिकार मञ्च नेपालले पनि सहकार्य गरेको अध्यक्ष घिमिरेले जानकारी दिईन् ।

उक्त सेभ हाउसमा कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका महिला तथा बालबालिकाहरुले सेवा लिएका छन् ।

स्थानीय तहमा कति आउँछन् उजुरी ?

गौरीगंगा नगरपालिकाको न्यायीक समितिमा आर्थिक वर्ष २०७६/०७७ मा ३१ वटा उजुरी आएको तथ्यांक छ । जसमा घरेलु हिंसा १४, जग्गा विवाद ८, गालीबेजती ४, नागरिकता सम्बन्धि १, लेनदेन ३ र ज्याला मजदुरी नपाएको १ जनाले उजुरी हालेको तथ्यांक छ ।

यस्तै कैलारी गाउँपालिकामा लेनदेन १८, घरेलु हिंसा ७, बहुविवाह ६, सिमाना मिचेको (जग्गा विवाद) १६, कुटपीट ३ र अंशबन्डा २ गरि ५२ वटा उजुरी आएको तथ्यांक छ ।

यस्तै हाल सम्म कैलारी गाउँपालिकामा २०५ मुद्दा परेका छन् । गोदावरी नगरपालिकामा १९७, धनगढी उपमहानगरपालिकामा ८७, जानकी गाउँपालिकामा ५२, टिकापुर नगरपालिकामा ७८, लम्की चुहा नगरपालिकामा १५ र मोहन्याल गाउँपालिकामा १ वटा मुद्दा दर्ता भएको छ । यी तथ्यांकलाई आकलन गर्ने हो भने हिंसा प्रभावितलाई छाहरीकोलागि सेभ हाउस अति नै उत्तम रहेको प्रमाणित हुन्छ ।