बैंकका कर्मचारी भन्दै ठगी गर्ने २ जना पक्राउ
धनगढी,३० असार। टिकापुर नगरपालिका वडा नम्बर १ की ४४ बर्षीया महिलालाई १० लाख ठगी गर्ने २ जना पक्राउ परेकाछन् । जिल्ला प्रहरी कार्यालय कैलालीले ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार ठगीमा संलग्न दार्चुलाको लेकम गाउँपालिका १ का ३२ वर्षीय पदमराज भट्ट र डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ की ३५ बर्षीया सन्जा कुमारी कठायत रोकायालाई डोटीबाटै पक्राउ हो ।
भट्टको साथमा नेपाल बैङ्क लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैङ्क तथा आईएमईका भौचर समेत बरामद गरिएको छ । भट्टले आफू नेपाल बैङ्क लिमिटेडको शाखा अधिकृत भएको र आफ्नो घर धनगढी उपमहानगरपालिका ५ भएको भन्दै १० लाख दिएमा ३ करोड ५० लाख लोन पास गरी दिने पीडित महिलालाई ठगी गरेका थिए ।
उनले ति महिलासँग थप २ लाख माग गरे पछि शंका लागेर जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी गरेकी थिइन । उजुरी लगतै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
यसअघि पनि पदम राज भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरण तथा जबरजस्ती चोरी मुद्रामा पक्राउ गरेको थियो । भट्टले अरूलाई पनि ठगेको हुन सक्ने भएकाले पीडितलाई कार्यालयमा सम्पर्क राख्न कैलाली प्रहरीको अनुरोध छ ।













