कैलारी गाउँपालिकाका सबै सङ्क्रमित निको

हसुलिया, २८ असार । कैलालीस्थित कैलारी गाउँपालिकाका कोरोना सङ्क्रमित सबै व्यक्ति निको भएर घर फर्केका छन् । हालसम्म सङ्क्रमण पुष्टि भएका २७ जना सबै कोरोना जितेर घर फर्केका हुन ।

कोरोना पुष्टि भएको २७ मध्ये २२ जनालाई गाउँपालिकाको आइसोलेसन र पाँच जनालाई धनगढीमा राखिएको थियो । गाउँपालिकाको आइसोलेसनमा रहेका सबै व्यक्ति कोरोना जितेर घर फर्केको स्वास्थ्य संयोजक विरेन्द्र सापकोटाले जानकारी दिए । यसैगरी, धनगढी आइसोलेसनमा रहेका पाँचै जना पनि निको भएर घर फर्केको उनले बताए ।

सापकोटाका अनुसार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएका २१ जनालाई केही दिन अगाडि डिस्चार्ज गरिएको थियो । गाउँपालिकाको आइसोलेसनमा बाँकी रहेका एक जना सङ्क्रमितको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएपछि आज उनलाई घर पठाइएको छ ।

वडा नम्बर ५ को पवेरास्थित जनकल्याण माध्यमिक विद्यालयको आइसोलेसनमा रहेका ती व्यक्तिलाई गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी लगायतकाले फूलमाला लगाएर बिदाई गरेका छन् ।

सबै सङ्क्रमितहरु कोरोना जितेर घर फर्केपछि गाउँपालिका कोरोनामुक्त भएको संयोजक सापकोटाले बताए । ‘अहिलेलाई सतप्रतिशत व्यक्ति निको भएर घर फर्केका छन्’, उनले भने ।

सो गाउँपालिकाको क्वारेन्टाइनमा हाल ४० जना व्यक्ति रहेका छन् । ३४ जना व्यक्ति हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन र छ जना व्यक्ति बैजपुरस्थित सर्वोदय आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका छन् । क्वारेन्टाइनमा रहेका एक जनाबाहेक बाँकी सबै भारतबाट फर्केका व्यक्ति हुन ।

क्वारेन्टाइनमा रहेका १० जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । यसैगरी, ३० जनाको स्वाब सङ्कलन गरेर परीक्षणको लागि पठाइएको छ ।