अविरल वर्षासँगै कैलालीमा सुरक्षा निकायलाई हाइ अल्टमा बस्न निर्देशन

कैलाली, २८ असार । केही दिन यता परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठुलो जनधनको क्षती भएका बेला कैलालीमा भने प्राकृति विपद् जोगिन उच्च सतर्कता अपनाइएको छ ।

कैलालीमा प्राकृति विपद व्यवस्थापनका पूर्व योजना तयार गरि विपद्बाट जोगिन उच्च सतर्कता अपनाइएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले शनिवार कैलालीका विभिन्न स्थानीय तहका प्रमुुख तथा प्रतिनिधिहरूसंग छलफल गर्दै विपद् व्यवस्थापनको लागि उच्च सतर्कता अपनाएको जनाएको छ ।

जिल्ला अधिकारी बोहराले सतर्कताको लागि विपद् व्यवस्थापनका पूर्व योजना तयार गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बैठकबाट विपद् प्रतिकार्यका योजना पारित गर्दै सोही अनुसारका तयारी थालिएको जानकारी दिए ।

उनले विपद प्रतिकार्यका लागि विभिन्न कलस्टर बनाएर जिम्मेवारी बाडफाँड गरिएको बताए । उनले जिल्लाका तीनवटै सुरक्षा निकायलाई हाइ अल्टमा बस्न निर्देशन दिईएको बताए ।

प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतका कार्यक्रमका लागि पनि पूर्व तयारी गरिएको प्रजिअ बोहराले बताए। जिल्लाका स्थानीय तहहरुलाई विपद प्रतिकार्य योजना बनाएर विपदको पूर्व तयारी गर्न, नदी कटान एवंम डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएकाहरुलाई सुरक्षित स्थानमा राख्न सहयोग समेत अनुरोध गरिएको उनले जनाए।

कैलालीमा भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकाका क्षेत्रस्थित कर्णाली नदी, मोहना नदी, कान्द्रा नदी नजिकमा पर्ने बस्तीहरू नदी कटान एवं डुबानको जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्लामा रहेका विभिन्न नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिँदै आएकाले बहाव बढेपछि सर्तकता अपनाउन अपिल गरिँदै आएको छ तर अहिले भने सबै जसो नदीमा पानीको बहाव सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए । तर जिल्लाको भजनी नगरपालिकाका केही क्षेत्र केही दिनअघिको बाढीले डुबानमा परेको थियो । सो क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ ।