सरिता गिरीको सांसद पद रिक्त

काठमाडौं, २५ असार । लिपुलेक तथा लिम्पियाधुरासहितको नक्सालाई निशान छापमा समेट्ने गरी भएको संविधान संशोधनमा मतदान नगरी ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीबाट निष्कासित सरिता गिरीको सांसद पद रिक्त भएको छ ।

संसद् सचिवालयले बिहीवार सूचनापत्र टाँस गरी समानुपातिकतर्फबाट निर्वाचित सरिता गिरीको स्थानमा सांसद पद रिक्त भएको जानकारी गराएको हो ।

सभामुखबाट स्वीकृत भएअनुसार संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सांसद पद रिक्त भएको सूचना प्रकाशित गरेका छन् ।

यसअघि समाजवादी पार्टीले गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिसकेको छ ।