विभिन्न वडामा संचालित योजनाहरुको अनुगमन
हसुलिया, १९ असार । कैलारी गाउँपालिकाको विभिन्न वडाहरुमा संचालित योजनाहरुको अनुगमन गरिएको छ ।
गाउँपालिकास्तरिय अनुगमन समितिले वडा नम्बर २ र ८ मा संचालित योजनाको अनुगमन गरेको हो । समितिका संयोजक एवम गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाको नेतृत्वमा भएको अनुगमनमा समितिका सदस्यद्वय खडक बिक, रन्जिता चौधरी सहभागी थिए ।
यसैगरी, गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, सव(इन्जिनियर सुनिल चौधरी लगायतको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले वडा नम्बर ८ स्थित दुधिया गाउँदेखि मोहनी बजारसम्मको सडक कालोपत्रे, श्रमशिल सहकारी संस्थाको भवन निर्माण योजना अनुगमन गरेको छ ।
यसैगरी, सोही वडाको दुधियामा निर्माण गरिएको आर्टिजन बोरिङ, गाउँपालिका र नव जीवन सेवा संघको सहकार्यमा २ र ८ मा निर्माण गरिएको उच्च नल्काको अनुगमन गरिएको छ ।
समितिले वडा नम्बर २ स्थित कैलारी गाउँ शहीद गेटदेखि वडा कार्यालयसम्म निर्माणाधीन कालोपत्रे र महिमा एजी चर्चको भवन निर्माण कार्यको अनुगमन गरेको गाउँपालिकाका कर्मचारी रविन्द्रकुमार चौधरीले जानकारी दिए ।













