आज राष्ट्रिय धान दिवस : रोपाई सकियो, किसानहरु दहि चिउरा घरमै खाने

धनगढी, १५ असार । आज राष्ट्रिय धान दिवस । किसानहरु रोपाईसंग खेतमा दही चिउरा खाएर रमाईलो गर्ने चलन छ ।

‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन भने नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालका अधिकांश मानिसको पेशा अहिले पनि खेतीपाती नै छ ।

कृषि खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्न नसक्दा, जनशक्ति कामका लागि आफ्नो थातथलो छाडी शहर र विदेश पलायन हुँदा मुलुक खाद्यान्नका लागि परनिर्भर हुन थालिसकेको छ । तर यस वर्ष कोरोनाको कहरले धेरै जनशक्ति नेपाल भित्रिएकोले असारको पहिलो सातामा नै रोपाई सकिन थालेको हो ।

कैलारी गाउँपालिका वडा नं. ३ उत्तर भड्रीका भलमन्सा छोटेलाल चौधरी यो वर्ष समयमै पानी परेकोले गाउँका किसानहरु असारको पहिलो सातामै रोपाई गरिसकेको जानकारी दिए । उनी आफूपनि विघौ विघा जमिन लिजमा लिएर खेति गरिरहेको बताउदै यो वर्ष राम्रो मौसम भएकोले असार ६ गते नै रोपाई सकिएको बताए ।

कोरोनाले गर्दा कामकाजी मान्छेपनि घरमै रहेकोले रोपाई छिट्टै शुरु गरेको चौधरीले बताए । उनले भने यो वर्ष प्रयाप्त मात्रमा आकाशे पानी परेकोले जमिनमूनिको पानी प्रयोग नभएको बताए ।

यस्तै धनगढी उपमहानगरपालिका १६ का वडा अध्यक्ष लक्ष्मी नरायण चौधरी असारको पहिलो सातामै गाउँभरिका मान्छे रोपाई सकिसकेको बताए । अरु वर्ष असारको पहिलो सातादेखि रोपाई शुरु हुन्थ्यो तर यो वर्ष जेठ महिनामै शुरु गरेको चौधरीले बताए । थारु समुदायमा खेत सकेर हरदहुवा खाने चलन छ । अध्यक्ष चौधरीको गाउँमा हरदहुवा पनि खाईसकेका छन् ।

समयमै पानी परेर किसान खेति गर्न सजिलो भयो । यो वर्ष किसानहरु खुशीले गड्गड पनि भए । तर किसानको लागि अर्को विपति (सहल किरा) नजिक पुगि सकेको छ । जुन कारण खुशीसंगै निराश पनि छन् ।

यस्ता विपत्तिले पनि नेपाल अर्बौ अर्बको धान बाहिर देशबाट आयात गर्नुपरिरहेको सुदूरपश्चिम कृषि निर्देशनलायका सूचना अधिकारी टेकबहादूर विष्टले बताए । उनले विगतमा नेपाल कृषि प्रधान देशको रुपमा चिनिएको थियो तर अहिले देश अर्बौअर्बको धान अयात गरेर आफ्ना जनता पालिरहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्र ३१ अर्बको चामल आयात गरिसकेको बताए ।

नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुँदै आएको उनले बताए । नेपालमा मौसमको आधारमा चैते, बर्खे धान खेती हुँदै आएको छ । तर वितरण प्रणालीलाई राज्यले व्यवस्थि गर्न नसक्दा पहाडी जिल्लामा खाद्य संकट भईरहेको विष्टको भनाई छ ।

‘धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र सम्बृद्धि भन्ने यस वर्षको धान दिवसको नारा रहेको छ’ मन्त्रालयका प्रबक्ता खगेन्द्र शर्माले भने–‘कोरोना भाइरसको कारण विगतका वर्षहरुको जस्तो यस वर्ष औपचारिक कार्यक्रमको आयोजना भने गरिने छैन ।’ उनले सुदूरपश्चिममा ५० प्रतिशत रोपाई सम्पन्न भईसकेको जानकारी दिदै यो वर्षका धेरै किसान घरमै दही चिउरा खाने बताए ।

सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असार १५ को पुर्ब सन्ध्यामा आईतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि कोरोना कहरका कारण यस बर्ष औपचारिक कार्यक्रम नगर्ने जानकारी दिए ।