विभिन्न वडामा संचालित योजनाको अनुगमन

धनगढी, १२ असार । कैलारी गाउँपालिकास्तरिय अनुगमन समितिले योजनाको अनुगमन गरेको छ ।

समितिका संयोजक एवम् गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाको नेतृत्वमा खटेको टोलीले विभिन्न वडामा सन्चालित योजनाको अनुगमन गरेको हो ।

टोलीले वडा नम्बर ३ को दक्षिण भडरीदेखि हेल्थ पोस्ट चौकसम्म ३० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको कालोपत्रे, वडा नम्बर ४ को के गाउँ २० मिटर सडकदेखि दिपेन्द्र आधारभूत विद्यालय डाडाटोल भडरीसम्म २० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको सडक स्तोरन्नतिको अनुगमन गरेको छ ।

यसैगरी, २० लाख रुपैयाँमा निर्माण भइरहेको घुरहा नदीदेखि २० मिटरसम्म सडक स्तरोन्नतिको अनुगमन गरिएको छ । तीन वटै योजनाको काम सम्पन्न हुन बाकी रहेको जनाइएको छ ।

यस्तै, वडा नम्बर ९ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत ज्योति सभाहलको पर्खाल निर्माण र सभाहल निर्माण कार्यको पनि अनुगमन गरिएको समितिले जानकारी दिएको छ । पर्खाल र सभाहल निर्माण कार्य सम्पन्न भएको अनुगमनमा सहभागी गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए ।

उनले केहि योजनाको काम अधुरै रहेको र सुधार पनि गर्नु पर्ने देखिएकोले सुझाव दिएको बताए । अनुगनमा समितिका सदस्य रन्जिता चौधरी, खडक बिक, प्राविधिक निर्मल चौधरी सहभागी थिए ।