मानसिक विरामीका लागि औषधी सहयोग
हसुलिया ११ असार । कोभिड १९ को विश्वव्यापी महामारीले देश बन्दाबन्दीको अवस्थामा रहेकोले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई नियमित औषधी सेवन गर्नमा सहजताका लागि कैलारी गाउँपालिकालाई मानसिक उपचारका लागि प्रयोग गरिने औषधी सहयोग गरिएको छ ।
बिहीवार मानसिक तथा मनोसामाजिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सी.एम.सी.) नेपालले उक्त औषधी गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौँवालाई हस्तान्तरण गरिएको हो ।
औषधी हस्तान्तरण कार्यक्रममा सी.एम.सी. नेपाल कैलाली जिल्लामा कार्यरत मनोसामाजिक परामर्शकर्ता अनत चौधरीले बन्दाबन्दीका कारणले नियमित रुपमा सेवन गर्नुपर्ने मानसिक स्वास्थ्य समस्याको औषधी रहेकोले उपचारत विरामीलाई औषधी अभाववाट थप समस्या नहोस भनेर औषधी सहयोग गरिएको बताए ।
उनले अगाडि भने “खासमा कतिपय मानसिक उपचारको औषधी नेपाल सरकारको निःशुल्क वितरण सुचीमा छ, सरकारले उपलब्ध गराउनु पर्ने हो तर यस्तो परिस्थितीमा सरकारको ध्यान क्वारेन्टाईन व्यवस्थापन लगायतका काम व्यस्त भएकाले अहिले हामीले पुलको काम मात्रै गरेका हौँ । पछि सरकारले नै उपलब्ध गराउनु पर्छ ।”
साथै अहिले कोरोना महामारीले मानसिक तथा मनोसामाजिक समस्या बढ्ने बताउँदै यसका लागि स्थानीय निकायले जनस्तरमा जनचेतना फैलाउने खालको कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताए ।
सी.एम.सी. नेपालले सन् २०१४ देखि कैलाली जिल्लाको ५ वटा स्थानीय निकाय सँगको साझेदारी तथा समन्वयमा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम संचालन गर्दै आइरहेको छ । सोही कार्यक्रम अन्तर्गत अहिले सो संस्थाको कार्यक्रम कैलारी गाउँपालिकाको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र मार्फत मानसिक तथा मनोसामाजिक परामर्श सेवा दिने काम भइरहेको छ । हालसम्म उक्त संस्थावाट २ सय २० जनाले मानसिक स्वास्थ्य समस्या उपचार सेवा लिइसकेका छन् ।













