महिला पुरुषको छुट्टा छुट्टै आईसोलेशन, आजदेखि सञ्चालनमा

धनगढी, ११ असार । कोरोना संक्रमितहरुको उपचारका लागि धनगढी उप–महानगरपालिकाले बुधवार देखि २८ वेडको आईसोलेशन संचालनमा ल्याएको छ ।

धनगढीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले महिला पुरुषकोलागि छुट्टा छुट्टै आईसोलेशन निर्माण गरेको धनगढी उपमहानगरपालिका उपप्रमुख शुसिला मिश्र भट्टले जानकारी दिईन् । उनका अनुसार तत्कालको लागि १० वेड महिला १८ वेड पुरुषकोलागि छुट्टा छुट्टै भवनमा आईसोलेशन निर्माण गरिएको छ ।

उप–प्रमुख भट्टले आईसोलेशन भित्र महिलाका लागि छुट्टै कक्ष तयार गरिएको बताईन । पुरुष र महिलाका लागि फरक फरक कक्षहरु छन्, यस बिषयमा हामी संवेदनशील छौं ।

उनले धनगढी नगरपालिका वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरेको आईसोलेशनमा संक्रमित बिरामीहरुलाई आजदेखि राख्न सुरु भैसकेको बताईन् । आवश्यकता अनुसार बेड थप गर्ने धनगढी नगरपालिकाको योजना छ । अहिले संचालनमा ल्याएको आईसोलेशनमा १ सय ५० वेड सम्म बनाउन सकिने उनले बताए ।

यस्तै नगर प्रमुख नृपबहादुर वडले प्रदेशको सरकारद्धारा निर्मित कारोना अस्पतालमा ६५ वटा मात्रै आईसोलेशन वेड रहेको बताए । प्रदेशभरीका संक्रमितहरुको उपचार गर्नुपर्ने भएकाले त्यहाँ बिरामीले ठाउँ पाएका छैनन् नगरप्रमुख वडले भने ।

उनले नगरपालिकाका महिलाका लागि धनगढीमा रहेको बि.पोलिटेक्निकमा पनि १० वेडको ओइसोलेशन बनाउने तयारी गरिरहेको जानकारी दिए ।

धनगढी उप–महानगरपालिका भित्र मात्रै ६५ जना कोरोना संक्रमित पुष्टि भएका छन् । जसमध्ये २ जनालाई सेती प्रादेशीक अस्पतालमा राखेर उपचार भैराखेको छ । भने ७ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बरालले जटिल अवस्थामा रहेकाहरुलाई मात्रै आईसोलेशनमा राखेर उपचार गरिने बताए ।