बाजुरामा भेटियो दुर्लभ बन्यजन्तुहरुको छाला, अंग र हडुडी संकलन केन्द्र

बाजुरा, ११ असार । प्रहरीले बाजुराको त्रिवेणी नगरपालिकास्थित एउटा घरमा दुर्लभ बन्यजन्तुका छाला, अंग र हड्डीहरु संकलन हुने गरेको सूचना पाएको थियो। जिल्ला प्रहरी कार्यालय बाजुराले सूचना अनुसार, घरमा निगरानी गरिरहेको थियो। प्रहरीको सूचनामा केही थान चितुवाको छाला घरमा लुकाएको भन्ने थियो।

बाजुरा प्रहरी प्रमुख डीएसपी टंकप्रसाद भट्टराईको नेतृत्वको टोलीले सोमबार प्रहरी निगरानीमा रहेको लालबहादुर बुढाको घरमा छापा मार्‍यो। प्रहरी पुग्नुअघि नै घरधनी बुढा फरार थिए। तर, प्रहरीले उनको घरमा लुकाएर राखेका दुर्लभ बन्यजन्तुका आखेटोपहारको गोदाम फेला पारेको छ।

डीएसपी भट्टराईका अनुसार, बुढाको घर बाजुरा र आसपासका जिल्लामा चोरीशिकारी गरिएका दुर्लभ बन्यजन्तुहरुको छाला, अंग र हडुडी संकलन केन्द्र थियो। बुढाले चोरीशिकारी भएका बन्यजन्तुका आखेटोपहार खरिद गर्ने र एकमुष्ट काठमाडौंमा तस्करीगर्ने गरेका थिए।

प्रहरीले बुढाको घरबाट चितुवाको छाला दुई, रतुवाको छाला दुई, घोरलको छाला दुई, विभिन्न बन्यजन्तुका हडुडी पाँच, भालुको पित्त दुई सय ग्राम र हरिणका खुट्टा र सिंङ र चितुवाको टाउको बरामद गरेको छ।

“जिल्लामा चितुवाको संख्या बढिरहेको छ” डीएसपी भट्टराईले भने, “हामी घरधनीको खोजीमा छौं, त्यसपछि थप कुरा खुल्ने छ।”

प्रहरीले घटनामा संलग्न स्थानीय खगेन्द्र खड्का, रामबहादुर ऐडी र बिर्खबहादुर साँउदलाई पक्राउ गरेर बरामद सामाग्रीसहित जिल्ला वन कार्यालयलाई बुझाएको छ। हिमालखबर