नवजीवन अस्पतालका २४ स्वास्थ्यकर्मीको पिसीआर नेगेटिभ
धनगढी, ९ असार । कोरोनाको संक्रमणबाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका नवजीवन अस्पतालका २४ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ ।
धनगढीको नवजीवन अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मी सहित २४ जना रिर्पोट नेगेटिभ आएको हो । अस्पतालका सञ्चालक योगेन्द्र ओझाले धनगढीमा गरिएको पीसीआर परीक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको जानकारी दिए ।
जेठ ३१ गते कोरोना पुष्टि भएका गोदावरी नगरपालिका १ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो । कोरोना पुष्टि हुन अगाडी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जेठ ३० गते नवजीवन अस्पतालको आइसीयूूमा भर्ना गरिएको थियो ।
विरामीको अवस्था जटिल बन्दै गएपछि र कोरोना भाइरस (कोभिड-१९) संग मिल्दो जुल्दो लक्षण देखा परेपछि स्वाव परिक्षण गर्दा उनको पिसीआर रिपोर्ट पोजेटिभ आएको थियो । जेठ ३१ गते सेती प्रादेशिक अस्पतालमा रिफर गरिएका उनको अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो ।













