कैलारी गाउँपालिकाले निर्माण गर्यो आठ वेडको आइसोलेसन

हसुलिया, ७ असार । कैलारी गाउँपालिकाले आठ शैयाको आइसोलेसन कक्ष स्थापना गरेको छ ।

गाउँपालिकाका पाँच जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि उनीहरुलाई राख्नको लागि वडा नम्बर ५ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा आइसोलेसन कक्ष निर्माण गरिएको हो । आइसोलेसन कक्ष निर्माण कार्यमा जनप्रतिनिधि र कर्मचारी खटेका थिए ।

कैलारीमा पहिलो पटक पुष्टि भएको पाँच जना सङ्क्रमितलाई सोही आइसोलेसन कक्षमा राखिएको छ । यसैगरी, आवश्यक स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि व्यवस्था गरिएको जनाइएको छ ।

आरडीटी परीक्षणमा पोजेटिभ देखिएकाहरुमध्ये पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितको स्वाब नमूना रिपोर्ट हिजो आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटाले जानकारी दिए ।

सङ्क्रमितहरु वडा नम्बर ८ र ९ का रहेका गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । उनले थप सङ्क्रमित पुष्टि भएमा आवश्यकतानुसार आइसोलेसन बेडको व्यवस्थापन गर्दै जाने उल्लेख गरे ।

क्वारेन्टाइनको अनुगमन

कैलारी गाउँपालिका स्तरीय अनुगमन समितिले वडाहरुमा स्थापना गरिएका क्वारेन्टाइनको अनुगमनका गरेको छ ।

समितिका संयोजक एवम् गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारुको संयोजकत्वमा क्वारेन्टाइनको अनुगमन गरिएको हो ।

समितिले वडा नम्बर १ को वनदेवी आधारभूत विद्यालय, वडा नम्बर ३ को दीपेन्द्र प्रावि उत्तर भडरी, वडा नम्बर ४ को गरिमा प्रावि के गाउँमा स्थापना गरिएको क्वारेन्टाइनको अनुगमन गरेको छ । यस्तै, वडा नम्बर ५ को सर्वोदय प्रावि बैजपुर, वडा नम्बर ७ को राष्ट्रिय माध्यमिक विद्यालय भुईयाँफाँटा र जनता आधारभूत विद्यालय रामपुरमा स्थापना गरिएको क्वारेन्टाइनको पनि अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा क्वारेन्टाइनमा रहेका महिलाहरुलाई हाइजेनिक किट, गर्भवती र बालबालिकालाई फलफूल, विस्कुट वितरण गरिएको छ । यस्तै, सेनिटाइजर, मास्क, साबुन, ब्रस, कोेल्गेट पनि वितरण गरिएको जनाइएको छ ।

अनुगमनका क्रममा समितिका संयोजक एवम् उपाध्यक्ष सत्गौंवाले क्वारेन्टाइनमा बसेकाहरुसंग छलफल गरेकी थिइन् । उनले स्वास्थ्यको सवालमा सजगता अपनाउन पनि आग्रह गरिन ।

अनुगमनमा गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, स्वास्थ्य शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।