बलात्कारको आरोपमा पक्राउ परेका ८० वर्षीय वृद्ध ५० हजार धरौटीमा रिहा
कैलाली, ५ असार । ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ४ का ८० वर्षीय वृद्ध बालाराम सुवेदी धरौटीमा रिहा भएका छन्।
गएको ११ जेठमा पीडित बालिका र पीडकको नातिनी संगै खेलिरहेको बेला दिउँसो करिब ३ बजेतिर घरमा कोही नभएको मौकामा उक्त घटना भएको थियो ।
बालिकाले पिसाव फेर्न गाह्रो भएपछि मात्रै आमालाई घाउ देखाएकी थिइन् । बालिकाको योनी सुनिएको देखेपछि आमाले कमिलाले टोकेको भनेर तेल लगाई दिएकी थिइन् । तर, दोस्रो दिन धेरै दुखेको भन्दै बालिका रोएपछि सोधपुछ गर्दा बालिकाले घटना बारे खोलेकी थिइन् ।
घटनाबारे थहाँ पाएपछि बालिकाका परिवार १४ जेठमा मालाखेति ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । घटना खुलाशा भएपछि पीडक वृद्धले आफै घरमा आएर कति रुपैया चाहिन्छ मिलापत्र गरौं भन्दै बालिकाको परिवारलाई पैसाको लोभ समेत देखाएको पीडित परिवारको आरोप छ ।
पीडित परिवारले भने ‘अदालतले वृद्धलाई कोरोना महामारीको अवस्था र उमेर हदबन्दी देखाएर १२ दिनभित्रै ५० हजार धरौटीमा रिहा गरेको छ ।’ वृद्ध सुवेदी जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशमा रिहा भएका हुन् ।
बालिकाका आफन्तले उमेर हदबन्दी लागेपनि छोटो समयमै थोरै जरीवानामा रिहा भएको भन्दै असन्तुष्टी जनाएका छन्। पीडितका आफन्तले अपराधीलाई प्रशासनले नै संरक्षण दिएको आरोप लगाएका छन् ।
बालिकाको शारीरिक परीक्षण प्रतिवेदनमा योनीमा यौनजन्य पदार्थ थुप्रिएको र च्यातिएको भन्ने उल्लेख छ । स्वास्थ्य प्रतिवेदनले उनको योनीमा चोट लागेको प्रमाणित गरेपनि अदालतको मिसिलमा भने पर्याप्त प्रमाण नदेखिएको भन्दै पीडक सुवेदीलाई धरौटीमा २७ जेठमा रिहा गर्न आदेश दिएको हो ।
‘हामीसंग थुप्रै प्रमाण हुँदाहुँदै पनि कानूनले हामीमाथि छलकपट गर्यो, न्यायको पखाईमा अदालत धायौं तर राज्यले नै हामीमाथि ठूलो अन्याय ग¥यो । रक्षक नै भक्षक भएपछि सोझा नागरिकले कसरी न्याय पाउँछन् ?’, पीडित परिवारको प्रश्न छ ।
बलात्कार आरोपीत वृद्धलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न मनासिव नदेखिएको भन्दै ५० हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाडिएको अदालतले जनाएको छ । घटनापछि बालिका मानसिक रुपमा अस्वस्थ देखिएको परिवाले जनाएको छ ।













