क्वारेन्टाइनमा बसेकाहरुका लागि खाद्यान्न सहयोग

हसुलिया, ५ असार । कैलारी उद्योग वाणिज्य संघ र ज्योति विकास बैंक हसुलिया शाखाले क्वारेन्टाइनमा बसेकाहरुका लागि खाद्यान्न सहयोग गरेको छ ।

कैलारी गाउँपालिकास्थित सम्पूर्ण वडामा क्वारेन्टाइनमा बसेकाहरुलाई खाना खुवाउनका लागि सहयोग गरिएको हो । कैलारी उद्योग वाणिज्य संघको पहलमा हसुलिया बजार व्वस्थापन समितिले ५३ हजार, पवेराले ३० हजार, मोहनी बजारले १५ हजार, गदरियाले ६ हजार र गौरीगणेश सामुदायिक वन उपभोक्ता समूहले आठ हजार रुपैयाँ सहयोग गरेका थिए ।

कुल संकलित एक लाख १३ हजार रुपैयाँँले २७ क्वीन्टल चामल खरिद गरेर संघले गाउँपालिकालाई दिएको छ । कैलारी उद्योग वाणिज्य संघ हसुलियाका अध्यक्ष नेपालु चौधरीले गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई खाद्यान्न हस्तान्तरण गरे । सो क्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाको पनि उपस्थिति रहेको थियो ।

यसैगरी, ज्योति विकास बैंकले १० हजार ४०० रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको छ । सो बैंकले १२५ केजी चामल, नून र दाल १०/१० केजी, एक पेटी खाने तेल र पाँच पोका चिउरा सहयोग गरेको गाउँपालिकाका कर्मचारी रविन्द्रकुमार चौधरीले जानकारी दिए । बैंकका कर्माचारी प्रकाशदत्त जोशीले गाउँपालिकाका अध्यक्ष चौधरीलाई सो खाद्यान्न सहयोग गरे ।