फरकफरक व्यक्तिबाट १२ वर्षीया बालिकामाथि बलात्कार, आरोपित दूई जना पक्राउ

कैलाली, ४ असार । कैलालीको गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिका फरक फरक व्यक्तिबाट पटकपटक बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

गौरीगंगा नगरपालिका ४ का २१ वर्षीय नवीन साउदले गएको १० जेठमा आँप खान बोलाएर पहिलोपटक ती बालिकालाई बलात्कार गरेको पीडित परिवारले जनाएको छ । साथीसँग खेलिरहेका बेला साउदले आफ्नो कोठामा आँप खान बोलाएर बलात्कार गरेको बालिकाको भनाइ छ।

त्यसपछि १२ जेठमा बिहानै भाइसँग चिनी किन्न पसलमा गएको बेला अर्का २३ वर्षीय चन्द्र साउदले पनि बलात्कार गरेको बालिकाको आरोप छ । सँगै गएका भाइलाई लखेटेर बालिकालाई नियन्त्रणमा राखी उनले जबर्जस्ती गरेका थिए।

चिच्याएपछि दिनभर नछोड्ने भन्दै धम्काएर युवकले जबर्जस्ती गरेको बालिकाले बताएकी छन् । पसलमा ग्राहक आएपछि उनले बालिकालाई छोडेका थिए।

पिसाब फेर्न गाह्रो भएपछि र यौनाङ्गबाट रगत बग्न थालेपछि घटना भएको ५ दिनपछि बालिका हजुरआमासँग इलाका प्रहरी कार्यालय राजीपुर चौकी गएकी थिइन् । बालिकाका अनुसार इलाका प्रहरी कार्यालयले उजुरी लिन नमानेर उल्टै जिस्क्याएर फर्काएको थियो।

पीडित बालिकाका बुबा मानसिक अपाङ्ग छन् भने आमाको ५ वर्षअघि नै मृत्यु भइसकेको छ । पीडित बालिका वृद्ध हजुरबुबा र हजुरआमासँग बस्छिन् । इलाका प्रहरी कार्यालयले उजुरी नलिएपछि बालिकाको उपचार पनि भएको छैन।

प्रहरी चौकी गएको थाहा पाएपछि पीडक चन्द्र साउदका बुबाले बालिकाकी हजुरआमालाई खुकुरी देखाएर मार्ने धम्की समेत दिएको पीडित बालिकाले बताएकी छिन्।

उक्त घटनाबारे गौरीगंगा नगरपालिकाकी उपप्रमुख अन्चला चौधरीले उजुरी लिन आग्रह गर्दा समेत इलाका प्रहरी कार्यालयले उजुरी दर्ता गर्न अस्वीकार गरेको छ।

त्यसपछि उपप्रमुख चौधरीले बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएकी छिन् । किटानी जाहेरीपछि उपप्रमुख चौधरीले आफूलाई फोनमा धम्की आइरहेको बताएकी छन्।

“यो घटनामा मैले हात हालिसकेकी छुँ । जति धम्की आए पनि दोषीलाई कारवाही नभएसम्म पछि हट्दैन” उपप्रमुख चौधरीले भनिन् ।

घटनामा संलग्न दुई जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याई सकेको प्रहरीले जाएको छ । बलात्कार आरोपमा गौरी गंगानगरपालिका ४ का नवीन साउद र चक्र साउदलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।