सुदूरपश्चिममा एकै दिन २३८ कोरोना संक्रमित थपिए, कुल संक्रमित ६ सय १७ पुग्यो

धनगढी, ४ असार । सुदूरपश्चिममा एकै दिन २३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २१३, धनगढी प्रयोगशालमा २४ र बाँकेको प्रयोगशालामा एक गरी २ ३८ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ ज्नामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका थिए।

यस्तै बाँकेको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको थियो। उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो। धनगढी प्रयोगशालामा कञ्चनपुरका २०, कैलालीका तीन र अछाम जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय १७ पुगेको छ।