कैलाली जनपुस्तकालय सुदूरपश्चिमको गौरव हो : नगरप्रमुख वड
धनगढी, ३ असार । सुदूरपश्चिमको सबैभन्दा जेठो सार्वजनिक पुस्तकालयको रूपमा रहेको कैलाली जनपुस्तकालयको नयाँ भवन निर्माण कार्य शुरू भएको छ ।
भवनको बुधबार (आज) धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले शिलान्यास गरे।
भवन शिलान्यास समारोहमा नगर प्रमुख वडले कैलाली जनपुस्तकालय सुदूरपश्चिमको ऐतिहासिक पुस्तकालय भएको बताए। उनले साहित्यिक र सांस्कृतिक विकासको केन्द्रको रूपमा पुस्तकालयको विकास गर्न नगरपालिकाले सहयोग गर्ने बताए।
कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टीएन जोशीले तीन तले पुस्तकालय भवन आगामी २ वर्ष भित्र निर्माण गर्ने लक्ष्य रहेको बताए। उनले पुस्तकालयको भुइतलामा सपिङ कम्पलेक्स बन्ने र दोस्रो र तेस्रो तलामा अत्याधुनिक पुस्तकालय निर्माण गरिने बताए। सामाजिक विकास मन्त्रालय, धनगढी उपमहानगरपालिकालगायत संघ संस्था र दाताहरूको सहयोगमा पुस्तकालय भवन निर्माण हुन लागेको जानकारी दिए ।
भवन शिलान्यास समारोहमा धनगढी उपमहानगरकी उममेयर सुशीला मिश्र भट्ट, दानवीर बद्रीनाथ भण्डारी,उद्योग वाणिज्य संघका महासचिव ओम विष्ट, कैलाली जनपुस्तकालयका उपाध्यक्ष तथा वरिष्ठ समाजसेवी शिवराज ओझा, नेकपा नेतृ गीता सोडारी, वरिष्ठ साहित्यकार पदमराज जोशी, यज्ञराज यात्री, धनगढी उपमहानगर वडा नं १ का अध्यक्ष सन्तोष मुडभरी, पुस्तकालय भवन निर्माण समितिका संयोजक हरिलाल गिरी, डा.देवेन्द्र भट्ट र पुस्तकालयका सचिब टङ्क जोशी लगायतले शुभकामना व्यक्त गरेका थिए ।













