बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा थारु छात्राबास निर्माण
बेलौरी ३ असार । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ मा थारु छात्राबास निर्माण हुदैछ । नगरपालिकाको आर्थिक सहयोगमा थारु कल्याणकारीणि सभा कञ्चनपुरले थारु छात्राबास निर्माण गर्न लागेको हो ।
नगरपालिकाले थाकसको समन्वयमा छात्राबासकोलागि दूई तले भवनको निर्माण गर्न ३० लाख रुपैया बजेट विनियोज गरेको छ । नगरपालिका नगर प्रमुख पोतीलाल चौधरीले थारु छात्राबास निर्माण गर्न चरणबद्धरुपले बजेट विनियोजन गरेको बताए ।

उनले पहिलो वर्ष २०७५/०७६ मा १० लाख र दोस्रो वर्ष ०७६/०७७ मा २० लाख रुपैयाँ थारु छात्राबासको लागि बजेट विनियोजन गरेको जानकारी दिए । नगरप्रमुख चौधरीले बेलौरी नगरपालिका डगौरा थारु तथा राना थारु बाहुल क्षेत्र भएकोले थारु समुदायको पहिचानसंग जोडिएका विभिन्न संरचनाको निर्माणमा बजेट विनियोजन गरिएको बताए ।
नगरपालिकाले नगर भल्मन्सा समिति गठन गरेको बताउँदै योजना छनौट गर्दा भलमन्साको निर्णयलाई प्रथामिता दिदै आएको जानकारी दिए । नगरपालिकाले थारु संग्रालय, थारु देउथनुवाको लागि पनि बजेट विनियोजन गर्दै आएको नगरप्रमुख चौधरीले बताए ।

थारु कल्याणकारीणि सभा कञ्चनपुरका जिल्ला सभापति मेवाराम चौधरीले नगरपालिकासंगको सहकार्यमा छात्रावास निर्माण कार्य अगाडी बढाएको बताए । थाकसले पहिलो वर्ष भवनको जग निर्माण गरेको बताउँदै दास्रो वर्ष पहिलो तल्ल निर्माण गर्न लागेको जानकारी दिए । उनले उक्त भवन पाँच तल्ले बनाउने योजनाका साथ जग निर्माण गरेको बताए ।
सभापति चौधरीले नगरपालिको आर्थिक सहयोगमा थाकसले थारु समुदायको कला संकृति तथा पहिचान झल्किने विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको बताए ।

बेलौरी नगरपालिकाले विगतदेखि नै थारुहरुको चाड पर्व माघ, अटवारी, अष्टिम्की, होली जस्ता पर्वको लागि पनि बजेट विनियोजन गर्दै आएको छ । साथै थारुको हक हित तथा पहिचान संरक्षणको लागि पनि विभिन्न कार्यक्रम, अन्तक्तिया तथा बहस गर्दै आएको सभापति चौधरीले बताए । उनले अगामी वर्षपनि नगरपालिको समन्वयमा थारु समुदायको सवालमा काम गर्ने निधो रहेको बताए ।













