प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक निर्माण गरिदैं
हसुलिया, ३२ जेठ । कैलालीस्थित कैलारी गाउँपालिकाको विभिन्न वडामा सडक निर्माणको कार्य थालिएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत वडाहरुमा सडक निर्माणको कार्य थालिएको हो ।
बन्दाबन्दी र कोरोना भाइरसका कारण समस्यामा परेकाहरुलाई ज्यालादारीको काममा लगाइएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । ‘प्रतिव्यक्तिलाई दैनिक ५०७ रुपैयाँ ज्याला दिने गरी काममा लगाएका छौं’, उनले भने ।
गतवर्ष देशैभरि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो । कतिपय ठाउँमा छाडा चौपाया धपाउने र सडकको झारपात उखेल्ने कार्यमै यो कार्यक्रम सीमित बनेको थियो ।
तर, कैलारी गाउँपालिकाले कार्यक्रम अन्तर्गत यो वर्ष सडक बनाउने कार्यलाई अगाडि बढाएको प्रवक्ता चौधरीले बताए । यसले ग्रामीण क्षेत्रको विकासमा सहयोग पुग्ने र श्रमको सम्मान पनि हुने बताइएको छ ।













