पहिरोले पर्वतमा पाँच जनाको मृत्यु, चार बेपत्ता
पर्वत, ३२ जेठ । मुसलधारे वर्षापछि पर्वतको कुस्मा नगरपापिलका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझ आएको पहिरोले दुई घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । अरु चार जना बेपत्ता छन् ।
मृत्यु हुनेमा दिपा थापा, कमला विक, तुलबहादुर थापा, मीनकुमारी थापा र विविशा थापा रहेका छन् । तुलबहादुर र मीन कुमारी श्रीमान श्रीमती र विविशा उनीहरुकी नातिनि हुन् । अझै चार जना हराइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
शनिबार साँझ ६ बजेदेखि कुश्मामा झण्डै दुई घण्टा मुसलधारे वर्षा भएको थियो । त्यसपछि घरभन्दा माथिबाट आएको पहिरोले दुई घर बगाएको कुस्मा नगरपालिका वडा नं. ३ का अध्यक्ष तेजप्रसाद पाध्यायले जानकारी दिए ।
मृत्यु भएकामध्ये तीन जनाको शव हिंजो साँझ र २ जनाको शव आज विहान भेटिएको थियो । राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले सुरक्षाकर्मी फर्किएका थिए। बिहानबाट पुनः खोजी शुरु भएको थियो ।
पहिरोले उनीहरुका घरमा रहेका पशुचौपायासमेत मरेका छन्। स्थानीयका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ। घटनास्थलमा नेपाली सेनाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार तथा हराइरहेकाहरुको खोजी गरिरहेका छन् ।













