संविधान संशोधनको विधेयक पारित हुँदै, सरिता गिरीको प्रस्ताव पेश नहुने
काठमाडौं, ३१ जेठ । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेत समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शालाई संवैधानिक मान्यता दिन आज संसदमा निर्णयार्थ पेश हुँदैछ । सबै राजनीतिक दल प्रस्तावको पक्षमा रहेकाले पारित हुने लगभग निश्चित छ ।
नेपालको संविधान २०७२ दोस्रो पटक संशोधन हुन लागेको हो । गत १८ जेठमा संसदमा संशोधन प्रस्ताव दर्ता भएको थियो । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा संशोधन प्रस्ताव निर्णयार्थ पेश गरिने संभावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि कानून मन्त्री तुम्बाहाङफेले आजै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
यसअघि भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको जमीन समेटेको थियो । उक्त भूमिमा चीन जोड्ने सडक समेत बनाएपछि नेपालले नयाँ नक्शा जारी गरेर नक्शामा आफ्नो भूभाग समेटेको हो ।
सोही नक्शा बमोजिम निशान छाप परिवर्तनका लागि सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो। नेपालको संविधानको अनुसूची ३ मा निशान छापभित्र नेपालको नक्शा अंकित छ । संशोधन विधेयक पारित भएसँगै नेपालको नक्शामा नयाँ सिमाना कायम हुनेछ ।
सबै दलले संशोधन प्रस्तावको समर्थन गरे पनि सांसद सरिता गिरीले विरोध गरेकी छिन् । उनले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् । समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि मानेकी छैनन् ।
समाजवादीले भने प्रस्तावको समर्थन गर्ने जनाइसकेको छ । आफ्नै पार्टीकी सांसद संविधान संशोधनको विपक्षमा उभिएपछि त्यसबारे निर्णय गर्न आज बिहान ११ बजे समाजवादी पार्टी संसदीय दलको बैठक बस्दैछ । हिमालखबर













