अनुगमन समितिद्वारा ब्याग बनाउने तालिमको अनुगमन

हसुलिया, २७ जेठ । ‘एक सहकारी एक उद्योग’ कार्यक्रम अन्तर्गत पारदर्शी महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको ब्याग बनाउने तालिमको आज अनुगमन गरिएको छ ।

गाउँपालिका स्तरीय अनुगमन समितिका संयोजक एवम् कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाको नेतृत्वमा रहेको टोलीले तालिमको अनुगमन गरेको हो । सो सहकारीले महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ गाउँपालिकाको सहयोगमा ब्याग बनाउने तालिम सञ्चालन गरिरहेको छ ।

रोजगारीको अवसर सृजना गर्नका लागि गाउँपालिकाको कार्यालयले एक सहकारी एक उद्योग नीति लिएको छ । अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश चौधरी लगायतको सहभागिता रहेको थियो ।

विपद् व्यवस्थापनका लागि सहयोग

यसैबीच, कोरोना भाइरसका कारण उत्पन्न समस्या समाधानका लागि गाउँपालिकाले थालेको स्वेच्छिक सहयोग सङ्कलन अभियानमा सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोशीले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी, कैलारी गाउँपालिका–१ विसनपुरका कौशी बोहराले व्यक्तिगत रुपमा २१ हजार रुपैयाँ सहयोग गरेकी छिन् । उनले आज गाउँपालिकाका उपाध्यक्ष सत्गौंवालाई सहयोग रकम हस्तान्तरण गरिन् ।