समस्यामा परेकाहरुको लागि कैलारी गाउँपालिकामा स्वेच्छिक सहयोग अभियानको थालनी
हसुलिया, २७ जेठ । कोरोना भाइरस र बन्दाबन्दीका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि कैलारी गाउँपालिकामा स्वेच्छिक सहयोग अभियानको थालनी गरिएको छ ।
बन्दाबन्दीका कारण काम गरेर खाने मजदुर वर्ग र क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोग गर्ने उद्देश्यले स्वेच्छिक अभियानको थालनी गरिएको हो । गाउँपालिकाकै जनप्रतिनिधि र कर्मचारीले सहयोग गरेर अभियानको सुरुवात गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आफ्नोतर्फबाट एक क्वीन्टल चामल सहयोग गरेर अभियानको सुरुवात गरे । उनले गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीलाई खाद्यान्न हस्तान्तरण गरे । यसैगरी, सूचना अधिकारी एवम् सामाजिक विकास अधिकृत यगम कलेलले नगद पाँच हजार, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटाले नगद चार हजार र योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले एक क्वीन्टल चामल सहयोग गरेका छन् ।

विभिन्न ठाउँमा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई खानाको व्यवस्था गर्न समस्या भइरहेका बेला सहयोग जुटाउने उद्देश्यले गाउँपालिकामा यस्तो अभियान सञ्चालन गरिएको हो । यसैगरी, दैनिक ज्यालादारी गरेर खाने मजदुर वर्ग पनि समस्यामा छन् । अभियानबाट जुटेको राहत सामग्री ज्यालादारीमा काम गर्ने मजदुर वर्गलाई पनि उपलब्ध गराइने जनाइएको छ ।
स्वेच्छिक सहयोग अभियानमा गाउँपालिकावासी जो कोहीले पनि सहयोग गर्न सक्ने अध्यक्ष चौधरीले बताए । ‘जनप्रतिनिधि र कर्मचारीलेमात्रै सहयोग गर्नुपर्छ भन्ने होइन’, उनले भने । ‘गाउँपालिकावासी जो कोहीले पनि आफूले सक्ने जति स्वेच्छिक रुपमा सहयोग गर्न सक्छन् ।’
सहयोगी हातहरुले ५/१० केजी वा आफूले जति सके त्यति चामल सहयोग गर्न सक्ने अध्यक्ष चौधरीले जनाए । सहयोग गर्नका लागि अपिल पनि गरेको उनले बताए । ‘सुरुवात हामीले गरि दिएका छौं । इच्छुक जो कोहीले सहयोग गर्न सक्नुहुन्छ’, उनले भने ।













