एकै दिन दूई सुत्केरी तथा गर्भवति महिलाको हवाई उद्धार
कैलाली, २६ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले सुत्केरी व्यथाबाट ज्यान जोखिममा परेका महिलाहरुको उद्धारमा सक्रियता देखाएको छ। एकातिर भौगोलिक विकटता र अर्कातिर बन्दाबन्दीको वेला समयमै सुविधायुक्त अस्पतालमा जान नसकेको कारण जोखिममा रहेका गर्भवती र सुत्केरीलाई हवाई उद्धार गरिंदै आएको छ।
सोमबार मात्रै एक गर्भवती र एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरेर अस्पताल पुर्याइएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए। अछामको चौरपाटी गाउँपालिका–५ की २१ साताकी गर्भवती २५ वर्षीया निर्मला खड्का र कञ्चनपुरको पुनर्वास नगरपालिकाकी २३ वर्षीया लजिमा मगरको उद्धार गरिएको हो।

निर्मलाको आन्द्रामा समस्या देखिएपछि अछामकै बयलपाटा अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि हवाई उद्धार गरी बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज लगिएको मन्त्रालयका सूचना अधिकारी खड्काले बताए।
यस्तै, कञ्चनपुरकी लजिमालाई सुत्केरी भएपछि मिर्गौलामा समस्या देखिएर धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना भएकोमा स्वास्थ्यमा जटिल देखिएपछि हवाई उद्धार गरी काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ।
आर्थिक वर्ष २०७६र७७ को पछिल्लो दुई महीनामै यी दुई सहित चार महिलाको हवाई उद्धार गरेको प्रदेश सरकारले जनाएको छ। गएको २२ वैशाखमा बझाङको केदारस्यु गाउँपालिकाकी ३३ वर्षीया जानकीदेवी रावललाई कैलालीबाट हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं पठाइएको थियो। ११ दिनकी सुत्केरी उनलाई पेट सुनिने समस्या भएपछि डडेल्धुरा अस्पतालबाट रेफर गरी सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा त्यहाँबाट हवाई उद्धार गरी काठमाडौं लगिएको थियो।
तर, उपचार गराएर फर्केको सातापछि उनको मृत्यु भएको थियो।
यस्तै, अछामको रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई पेटमा अत्यधिक रक्तश्राव भएर तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पुर्याइएको थियो। शल्यक्रियाकै क्रममा बच्चाको मृत्यु भएको थियो भने उनी स्वस्थ्य छिन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ। हिमाल खबरबाट













