कैलारी गापा क्वारेन्टिनमा बस्दै आएका १११ महिला मध्ये ७ जना गर्भवति, व्यवस्थापनमा चुनौति

धनगढी, २४ जेठ । कैलारी गाउँपालिकाले निर्माण गरेको १५ ठाउँको क्वारेन्टिनमा १ सय ११ जना महिला बस्दै आएका छन् । उनीहरु भारतको विभिन्न ठाउँबाट र केही व्यक्ति नेपालको अर्को जिल्लाबाट मजदुरी गरि फर्केको गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटाले जानकारी दिए ।

उनले हाल सम्म क्वारेन्टिनमा बस्दै आएका ६७० जना रहेको जानकारी दिदै १११ महिला मध्ये ७ जना गर्भवति महिला रहो छन् भने १८ जना बालबालिका पनि आफ्नो आमा बुवासंग क्वारेन्टमै बस्दै आएका छन् ।

क्वारेन्टिनमा बस्दै आएका गर्भवति महिलाहरुलाई आईरन चक्की र जुकाको औषधी उपलब्ध गराएको सापकोटाले बताए । यस्तो बेला बढि मात्रमा पोषिलो खानेकुराहरु खानु पर्ने भएपनि गाउँपालिकाको व्यवस्थापनको सम्स्या भएको कारण दाल भात बाहेक अरु उपलब्ध गराउन नसकेको गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी सत्गौंवाले बताईन् ।

उनले कैलारी गाउँपालिकासंग समन्वय गरेर काम गर्ने संघ संस्थाहरुलाई क्वारेन्टिनमा बस्दै आएका गर्भवति महिला र बालबालिकालाई पोषिलो खाने कुरा र उनीहरुलाई चाहिने अतिआवश्यक सामाग्री सहयोग गरिदिन अह्वान समेत गरिन् ।

कैलारी गाउँपालिकाको सहकार्यमा काम गर्दै आएका दलित महिला अधिकार मञ्च नेपालले तथ्यांक संकलन गरि अपथ्यारोमा परेका महिला तथा बालबालिकाहरुलाई सहयोग गर्ने बताएको छ ।

दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरेले विपतको बेला प्रोटेक्सन कलस्टरमा सुत्केरी तथा गर्भवति महिला, बालबालिका, महिला तथा जेष्ठ नागरिक बढि जोखिममा पर्ने भएको हुँदा आफ्नो संस्था यस्तो बेला जोखिम पहिचान गरि सहयोग गर्दै आएको बताईन् ।

उनले कोभिड १९ को महाविपत्तिमा पहिलो चरण महिला मैत्रि राहत सहयोग गरेको बताउँदै दोस्रो चरणमा पनि गाउँपालिकासंगको समन्वय र सहकार्य गरेर योजना बनाई अगाडी बढ्ने बताईन् ।

शंकास्पद ९३ जनाको रिर्पोट नेगेटिभ

क्वारेन्टिनमा बस्दै आएका ९३ जना शंकास्पद् व्यक्तिको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

९३ वटा थ्रोट स्वाब नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा सबै नेगेटिभ आएको हो । ८९ जना पुरुष र चार जना महिलाको स्वाब नमूनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक विरेन्द्र सापकोटाले जानकारी दिए । यसैगरी ५२५ जनाको आरडीटी विधिबाट स्वास्थ्य परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा बस्नेहरुलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्नका लागि योग अभ्यास गर्ने कार्यक्रम सञ्चालनको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।

खाद्यान्न जोहो गर्न समस्या

यसैबीच, क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको लागि खाद्यान्नको जोहो गर्न गाउँपालिकाको कार्यालयलाई समस्या भएको छ ।

गाउँपालिकामा मौज्दात चामल सकिदैं गएको तर, क्वारेन्टाइनमा बस्नेहरुको सङ्ख्या बढ्दै गएकाले खाद्यान्नको जोहो गर्न समस्या हुन लागेको हो । उनीहरुकोका लागि खाद्यान्नको व्यवस्था गर्न समस्या भइरहेकाले सहयोगी निकायहरुलाई सहयोग गर्न गाउँपालिकाका अध्यक्ष चौधरीले आग्रह गरेका छन् ।

‘हामीसंग भएको पैसाले खाद्यान्न किन्न थाल्यौं भने परीक्षण किट किन्न समस्या हुन जान्छ’, उनले भने । ‘त्यसैले खाद्यान्न सहयोग गर्नका लागि सहयोगी निकायलाई आग्रह गर्दछौं ।’

क्वारेन्टाइनमै खाना पकाएर खाने व्यवस्था नभएमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घरपरिवारले खाना दिन जाने र त्यसले झनै समस्या निम्त्याउने खतरा रहेको अध्यक्ष चौधरीले बताए ।

क्वारेन्टाइन व्यवस्थापन गर्न भ्याइ नभ्याइ

भारतबाट फर्किएकाहरु क्वारेन्टाइनमा आउनेक्रम बढेसंगै जनप्रतिनिधिलाई क्वारेन्टाइन व्यवस्थापन गर्न भ्याइ नभ्याइ भएको छ ।

दिनदिनै मान्छे थपिदैं गएकाले क्वारेन्टाइन व्यवस्थापनमा वडा अध्यक्षहरुलाई भ्याइ नभ्याइ भएको हो । उनीहरु भारतबाट फर्किएकाहरुको बसोबास र खानाको व्यवस्थापनमै व्यस्त भएका छन् ।

यसैबीच, गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी क्वारेन्टाइनमा बसेकाहरुको लागि खाना पकाउने कार्यमासमेत खट्न थालेका छन् । क्वारेन्टाइनमा समस्या भइरहेकाले खाना पकाउने कार्यमा आफै जुटेको उनले बताए । अध्यक्ष चौधरीले बसन्तास्थित विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुका लागि खाना पकाउने गरेका छन् ।