एकै दिन ३२३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं, २४ जेठ । नेपालमा एकै दिन ३२३ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ भने २ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । मृतकको संख्या १३ पुगको छ भने नेपालमा कोरोना संक्रमण भएका ३६५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो पटक ३२३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको र त्यसमध्ये ३७ जना महिला रहेको बताए।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताए । साथै, कैलाली र डोल्पामा एक(एक जनाको मृत्यु भएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।
उनको यसअघि नै मृत्यु भइसकेकोमा आज कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
डोल्पामा २० जेठमा नै मृत्यु भएका जगदुल्ला गाउँपालिका(३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो।













