क्वारेन्टाइनमै दुई शिशु जन्मिए

डोटी, २२ जेठ । डोटीमा दुई महिला एकै दिन क्वारेन्टाइनमा शिशु जन्म दिएकी छन्। दिपायल सिलगढी नगरपालिका २, खातिवडास्थित देवी माविमा रहेको क्वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजी र शिखर नगरपालिका ३, छडिमाडौंस्थित भवानी आवि खन्याडीमा रहेको क्वारेन्टाइनमा रहेकी २५ वर्षीया पूजा सार्कीले शिशुलाई जन्म दिएकी हुन्।

दिपायल सिलगढी नगरपालिका २ खुल्लेखमा घर भएकी आउजीले बुधबार राती १ बजेर ४४ मिनेटमा छोरा जन्मएका वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

यस्तै शिखर नगरपालिका ३ नकुराला घर भएकी सार्कीले बिहीबार बिहान ५ बजेर ३० मिनेटमा छोरा जन्माएको शिखर नगरपालिकाका स्वास्थ्य इकाइ इन्चार्ज हरिष शाहले जानकारी दिए ।

भारतको राजस्थानबाट जेठ १२ गते गीता आउजी श्रीमान अमर आउजी र एक बच्चाका साथ घर फर्किएका थिए । यस्तै पूजा १५ जेठमा भारतको मुम्बैबाट श्रीमान गगन सार्कीसँगै नेपाल आएका हुन् ।

उनीहरुलाई क्वारेन्टाइनमै अलग्गै सुरक्षितसँग राखिएको छ । अहिले दुबै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले जनाएको छ । यसअघि पनि जेठ १६ गते शिखर नगरपालिका १ कपल्लेकीकी २७ वर्षीया मञ्जु खातीले सोहि वडामा रहेको क्वारेन्टाइनमा छोरालाई जन्म दिएकी थिइन् ।