समाचार प्रभाव : महिला क्वारेन्टिनमा महिला सुरक्षाकर्मी नै खटाइयो, खानामा पनि सुधार

धनगढी, २० जेठ । कैलालीको धनगढी उपमहानगरपालिकाले महिला क्वारेन्टिन स्थलमा अबदेखि महिला सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ।

सोमबार हिमालखबर र केर्नी न्यूजमा ‘कोरोनाभन्दा मान्छेको त्रास बढी’– क्वारेन्टिनका महिलाहरु शीर्षकमा समाचार प्रकाशन भएको थियो। धनगढीमा उपमहानगरले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका महिलाहरुले पुरुष सुरक्षाकर्मी ड्यूटीमा बस्दा आफूहरु असुरक्षित महसुस गरेको विषय समाचारमा समेटिएको थियो।

उक्त विषय आएपछि धनगढी उपमहानगरले महिला क्वारेन्टिन स्थलबाट चौबीसै घण्टा महिला सुरक्षाकर्मी खटाउने व्यवस्था मिलाएको हो।

मंगलबार दिउँसो महिला क्वारेन्टिन पुग्दा महिला प्रहरी ड्यूटीमा थिइन्। क्वारेन्टिनमा बसेका महिलाहरुले खुशी हुँदै सुनाए, ‘उपमहानगरपालिकाको निर्णयले हामी खुशी छौं।’


साथै त्यहाँको व्यवस्थापनमा पनि सुधार भएको छ । कोरेन्टिनमा सोमबार रातिदेखि खानामा सुधार भएर दाल, भात, हरियो तरकारी दिईरहेको बताए ।

धनगढी उपमहानगरपालिका वडा नं। ८ का वडाध्यक्ष नारायण बरालले अबदेखि चौबीसै घण्टा महिला प्रहरीले क्वारेन्टिनमा सुरक्षा दिने बताए। ‘रातिको ड्युटीमा दुई जना महिला र एक जना पुरुष सुरक्षाकर्मी खटाउँछौं’, उनले भने।

क्वारेन्टिनमा खानाको गुणस्तर राम्रो नभएको गुनासोलाई पनि उपमहानगरले सम्बोधन गरेको छ। खानामा हरेक दिन खिचडी भात मात्रै दिइने गरिएकोमा क्वारेन्टिनमा बसेकाहरुले अरुचि भएको बताउँदै आएका थिए। सोमबार बेलुकादेखि दाल, भात, हरियो तरकारी र सलाद दिन थालिएको वडाध्यक्ष बरालले जानकारी दिए।