क्वारेन्टिनकालागि गाउँलेहरुबाट तरकारी सहयोग

हसुलिया, २० जेठ । कैलारी गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका लागि गाउघरका स्थानीयले समेत सहयोग गर्न थालेका छन् ।

विपद्का्े बेला सहयोग गर्नु सबैको दायित्व अनुरुप स्थानीयले आफूले सक्ने सामग्री सहयोग गर्न थालेका हुन । यसैक्रममा वडा नम्बर २ मा स्थापना गरिएको क्वारेन्टाइनमा बसेकाहरुका लागि सोही वडाको बसौटी गाउँका स्थानीयले तरकारी सहयोग गरेको गाउँपालिकामा कार्यरत जयकला रावलले जानकारी दिएकी छिन् ।

बसौटीका स्थानीयले करेला, लौका लगायतका तरकारी सहयोग गरेका हुन । हिजो रानामुडाका काशीनाथ चौधरीले पनि १०० किलो तरकारी सहयोग गरेका थिए ।

कैलारी गाउँपालिका–२ स्थित श्री कैलारी जनकल्याण आधारभूत नमूना विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा हाल ३२ जना बसेको वडा नम्बर २ का वडा अध्यक्ष सन्तु चौधरीले जानकारी दिए ।

कामको सिलसिलामा भारत गएकाहरु कोरोनाको डरले धमाधम स्वदेश फर्किन थालेपछि क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । यो संगै उनीहरुलाई खाना, बस्नको लागि समस्या पनि बल्झिन थालेको छ ।

कैलारी गाउँपालिकामा आठ ठाउँमा क्वारेन्टान स्थापना गरिएको छ । सोमबारसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४१५ रहेको थियो ।

क्वारेन्टाइनमा यसैगरी सङ्ख्या बढ्दै गए गाउँपालिकाले थेग्न सक्ने अवस्था नरहने स्वास्थ्य संयोजक विरेन्द्र सापकोटाले बताए ।

‘आज पनि केहि मान्छे थपिदैंछन्’, उनले भने । ‘अहिलेसम्म ठीकै छ, तर यसै गरी संख्या बढ्दै जाने हो भने गाउँपालिकालेमात्रै थेग्न सक्दैन ।’