मुग्लानबाट आएका महिलालाई सेनेटरी प्याड सहित स्वास्थ्य सामाग्री सहयोग

धनगढी, १९ जेठ । मुग्लानबाट आएका महिलाहरुलाई पर्पल फाउन्डेसनले सीमानाकमै सेनेटरी प्याड सहितको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

फाउन्डेसनमा आवद्ध भएका यूवा व्यापारी तथा उद्योग वाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाले मुग्लानबाट आएका महिलाहरुलाई क्वारेन्टिन बस्दा चाहिने अत्यावश्यक सामाग्री साथमै होस् भन्ने उद्देश्यले सेनेटर प्याड सहितको पर्पल झोला वितरण गरेको जानकारी दिए ।

उक्त झोलामा एक प्याकेट सेनेटरी प्याड, कण्डम, पिल्स, विस्कुट, सावुन र मास्कको प्याकेज बनाएर महिलामैत्री पर्पल झोला बनाएको उपाध्यक्ष ओझाले बताए । सीमानाका खुलेपछि भारतबाट नेपाल आउने मजदुर मध्ये ३० प्रतिशत महिला रहेको छन् ।

यहि जेठ १५ जेठदेखि सो महिलाहरुलाई सीमा नाकामै महिलामैत्री झोला दिन थालिएपछि क्वारेन्टिन बस्दा सजिलो हुने गरेको महिलाहरुको भनाई छ । फाउडेसनले चार दिनको अवधिमा ६०० जना महिलाहरुलाई पर्पल झोला उपलब्ध गराई सकेको ओझाले बताए ।

धनगढीका मनकारीहरु महिलामैत्री झोलादेखि खाना खुवाउँने सम्मको सहयोग गर्दै आएका छन् । यो सहयोग सुदूरपश्चिम प्रदेश सरकारसंगै स्थानीय सरकारलाई पनि सिकाई बनोस् ।