महिला क्वारेन्टिन : कोरोनाभन्दा मान्छेको त्रास बढी

कैलाली, १९ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका–७ का आरती रावल (२५), दिल्लीबाट ८ जेठमा नेपाल आइपुगेकी हुन् । कष्टकर यात्राको लामो कहानी सुनाउँदै उनले भनिन्, धनगढी आइपुग्दा खुशी त भएँ तर त्यो धेरैबेर रहन पाएन । अहिले उनी धनगढी उपमहानगरपालिकाद्वारा निर्मित महिला क्वारेन्टिनमा छिन् । ६ जेठमा गौरीफन्टा आइपुगेकी पनि उनलाई नाका बन्द भएकाले सुरक्षाकर्मीहरुले भारतीय सीमाबजार पलियास्थित क्वारेन्टिनमा फिर्ता पठाए । तर उनी जंगलको बाटो १२ घण्टा हिंडेर धनगढी आइपुगेको बताईन् ।

उनी धनगढी पुग्ने बित्तिकै प्रहरीले क्वारेन्टिनमा ल्यायो । क्वारेन्टिन आउनु अघिसम्म कोरोनाको डर लाग्थ्यो अहिले पुरुष प्रहरी देखेर डर लाग्छ उनले भनिन् । उनी भन्छिन्, “यो महिलाहरु मात्र बस्ने गरी बनाइएको क्वारेन्टिन रहेछ, ड्युटीमा दिनभरि महिला प्रहरी हुन्छन्, राती भने पुरुष प्रहरी आउँछन् । महिला र बच्चाहरु मात्रै भएको ठाउँमा राती पुरुष प्रहरी मात्रै भएकाले बाहिरै निस्किँदैनौं ।”

झट्ट हेर्दा शारीरिकरुपमा निकै कमजोर देखिने उनी मानसिकरुपले पनि कमजोर भएकी छिन् । तनाव थपिनुको कारण हो, उनलाई कोरोना लागेको गाउँलेले हल्ला गरेर घरमा भएका बुबा, आमा, दाजु र भाउजुलाई गरिएको छिः छिः दुरदुरको व्यवहार १

यही क्वारेन्टिनमा बस्दै आएकी सरला राठोर पनि ८ जेठमा भारतको लखिमपुर ९माइती० बाट धनगढी आएकी हुन् । डेढ वर्षको बच्चासहित ९ चैतमा माइत गएकी उनी बन्दाबन्दी शुरु भएपछि फसेकी हुन् । सीमानाका खुलेपछि नेपाल प्रवेश त गरिन् तर महिला क्वारेन्टिनको बसाइले पीडित छिन् । भन्छिन्, “बिहानको खाना दिउँसो दुई बजेतिर दिन्छन्, त्यो पनि खिचडी भात हुन्छ, न आफ्नो पेट भरिन्छ न बच्चाले खान्छ । भोको पेटको बच्चाले मेरो दुध मात्रै चुस्न खोज्छ, दुध नआएपछि भोकले झगडा गर्छ ।”

बच्चाको लागि दिनमा एकपटक भए पनि दुध वा बच्चाले खाने केही खानेकुरा भए हुन्थ्यो भन्ने उनलाई लागेको छ । भन्छिन्, “महिला र सानो बच्चा राख्ने भनेर महिला क्वारेन्टाइन बनाएको होला तर चाहिने कुरा केही छैन ।” परिवार नियोजनका लागि खाँदै आएको औषधि ९अस्थायी साधन पिल्स० तीनदेखि सकिएको र महिनावारी हुँदा प्याड समेत प्रयोग गर्न नपाएको उनले बताइन् ।

आरती झैँ पुरुष सुरक्षाकर्मीको रात्री पहराले उनलाई पनि सुरक्षित महसुस हुनुको साटो डर लागेको छ । उनी भन्छिन्, “दिउँसो जो भए पनि राती चाहिँ महिला प्रहरी नै ड्युटीमा भए हुन्थ्यो, पुरुषको पहराले त उल्टै डर लाग्छ ।”

महिलाहरु मात्रै राख्नका लागि बनाइएको यो क्वारेन्टिन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी बजारस्थित मुख्यमन्त्री कार्यालयको पछाडिपट्टी छ भने सोही भवनसँगै वन मन्त्रालयको कार्यालय जोडिएको छ तर महिलाहरु सुरक्षितसँग बस्न सकेका छैनन् भने खानपान र बच्चाको लागि छुट्टै व्यवस्था पनि छैन ।

यही क्वारेन्टिनमा रहेकी एकल महिला अनिता जोशी १० वर्षको छोराले केही पनि नखाने चिन्ताले पिरोलिएकी छिन् । उनलाई पनि कोरोनाको भन्दा खानपानका कारण बच्चा र आफू बिरामी हुने चिन्ता छ । उनी भन्छिन्, “बरु सादा भात र नुनखोर्सानी मात्रै दिएको भए मिठो हुन्थ्यो ।”

धनगढी उप–महानगरपालिकाले महिलाहरु मात्र राख्नको लागि वडा नम्बर १ को स्थित ‘बि पोलिटेक्निक’ को भवनमा क्वारेन्टिन बनाएको हो । यहाँ अहिले १२ महिला र ३ बच्चा गरी १५ जना बसिरहेका छन् । यो सहित धनगढी उपमहानगरपालिकाले ३० वटा क्वारेन्टिन सञ्चालन गरेको छ । ती क्वारेन्टिनहरुमा कूल ६८८ जना बसिरहेकोमा ७९ महिला र १९ जना बच्चा छन् ।

सरकारले जारी गरेको क्वारेन्टिन सञ्चालन मापदण्ड निर्देशिका अनुसार हरेक क्वारेन्टिनमा मेडिकल अफिसर हुनुपर्ने, त्यहाँका रहेका व्यक्तिको हरेक दिन ज्वरो नाप, स्वास्थ्य जाँच गर्नुपर्ने, दिनमा दुई पटक खाना र दुई पटक खाजा दिनुपर्ने भनेर समय तालिका समेत बनाइए पनि उनीहरुले यस्तो सुविधा केही पनि नपाएको गुनासो गरेका छन् । महिलामैत्री हुनैपर्ने हरेक क्वारेन्टिनमा एम्बुलेन्स अनिवार्य हुनुपर्छ, खानेपानी, स्नानगृह र शौचालयको व्यवस्थासँगै विच्छ्यौनाको दूरी कम्तीमा तीन मिटर हुनैपर्ने लगायतका मापदण्ड छन् ।

वडामा रहेको अन्य क्वारेन्टिनहरु पनि महिलामैत्री बनाउने निर्णय अनुसार बनाइएको धनगढी उपमहानगरपालिकाका उपप्रमुख शुसिला मिश्रा भट्टले दाबी गरिन् । परिवारसँगै हुनेलाई महिला र पुरुष दुवै बस्न मिल्ने क्वारेन्टिनमा पठाउने गरिएको छ ।

सबै ठाउँमा महिला सुरक्षाकर्मी खटाउन नसके पनि महिलाहरु मात्र बस्ने वि पोलिक्लिनिकमा भने महिला सुरक्षाकर्मी खटाउने निर्णय भएको उपप्रमुख भट्टको भनाइ छ । शनिबार यहाँ पुगेको हिमालकर्मीसँग त्यहाँ बस्ने सबैले रातीको ड्युटीमा पुरुष प्रहरी पठाउँदा आफूलाई डर लागेको बताए ।

उपप्रमुख भट्टले महिलाहरुको लागि चाहिने सेनेटरी प्याड, अन्य औषधिलगायत अत्यावश्यक सामग्री पनि उपलब्ध गराउने र महिला प्रहरी नै पठाउने विषयमा पनि आफूले पहल गर्ने बताइन् ।

१५ जेठदेखि महिलाहरुलाई सीमा नाकामै महिलामैत्री झोला दिन थालिएको कैलाली उद्योग बाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझा बताउँछन् । उनले भने, “क्वारेन्टिन महिला मैत्री नहुन पनि सक्छ । मुग्लानबाट आएका महिलाहरुलाई क्वारेन्टिन बस्दा चाहिने अत्यावश्यक सामाग्री साथमै होस् भन्ने उद्देश्यले यो झोला वितरण गर्न थालेका हौ ।”