सीमानाकामा महिलाको सकस : विस्कुटको भरमा यात्रा

धनगढी, १८ जेठ । भारतको मुम्बईबाट तीन दिनको कष्टपुर्ण यात्रा गरेर सीमा नाका पुगेकी अछामकी कमला साँउदको यात्रा भोगाई झनै पीडादायी छ ।

बच्चा बोकेर एक्लै आएकी उनले न त आफ्नो पेट भर्न सकिन न भोको पेटले १० महिनाको बच्चालाई पुग्ने दुधै र्पुयाउन सकिनन् । ‘काखमा १० महिनाको बच्चा छ, बाँडेर खाएको खिचडी भातले मेरै पेट भरिएन, बच्चालाई पुग्ने दुध पनि आएन । अरु खुवाउने कुरा पनि केही थिएन’, उनले बताईन् ।

अछामको बान्नीगढी नगरपालिका हो, कमलाको गन्तव्य । गाडीमा गइन् भने घर पुग्न अझै २४ घण्टा लाग्नेछ । तर, न आफू र बच्चाका लागि खाने खाना छ, न त छ पैसा नै ।

‘घर पुगिन्छ कि पुगिँदैन थाहा छैन । अरु बेला तीनहजार रूपैँया भाडा तिरे घर पुगिन्थ्यो, अहिले आठ हजार तिर्नुपरेको छ’, कमला अनिश्चितता व्यक्त गर्दै्छिन् ।

कमलासंगै नाकामा भेटिएकी राधा साउँदको पनि काखमा डेढ वर्षको बच्चा छ । लामो समयदेखि श्रीमानसँगै भारतमा बसिरहेका उनीहरू कोरोनाभाईरस महामारीकै कारण परिवारै घर फर्किएका हुन् ।

कञ्चनपुरको महेन्द्रनगरकी मनिषा चुनारा पनि दिल्लीबाट दुई दिन लगाएर गौरीफन्टा नाकाहुँदै शनिवार नेपाल आइपुगिन्। कोरोना भाईरस महामारीले रोजगारी र बासस्थानको अनिश्चता बढ्दै गर्दा आफ्नै मुलुक आइपुगेकी मनिषाको मन घर आइपुग्नै लाग्दा खुसीले भरिएको छ ।

परदेश छोडेर आफ्नै भूमि आइपुगेकी मनिषाको मन सीमा कट्दै गर्दा जति खुसी थियो दुई दिनदेखिका भोका बालबच्चाको हालत देखेर भने उती नै चिन्तित पनि ।

बाटोमा कतै खाने बस्ने सुविधा थिएन । जस्तो खाना पाए पनि खानुपर्ने बाध्यताले उनीहरूलाई स्वाद खोज्न दिएन । तर स(साना बालबालिकाले त त्यो कसरी बुझ्छन् र रु उनीहरू दुई दिनसम्म भोकभोकै दिल्लीबाट कैलाली पुगे । ूबाटोमा श्रीमान र मैले त खिचडी भात खायौं तर, बच्चाले खानै मानेन हिँडेदेखि भोकै छन्ू, मनिषाले सुनाइन् ।

यसरी रोजगारीका लागि भारत गएर फर्किदा दुस्ख पाउने मनिषाको परिवार एक्लो होइन । मनिषाका जस्तै दैनिक तीनदेखि पाँज हजारसम्मको संख्यामा नेपालीहरु ७ जेठदेखि गौरीफन्टा नाका खुलेपछि मुलुक प्रवेश गरिरहेका छन् ।

महामारीका बेला चौतर्फी बजार बन्द भएपछि र अभावका कारण खाना नपाएर साना बालबच्चाको बिजोग भएको छ ।

भारतका विभिन्न ठाउँबाट २/३ दिन लगाएर गाडीमा आएका बच्चाका आमा आफूहरुले ठाउँठाउँमा बिस्कुट र खिचडी खाए पनि साना बच्चाहरुले खान नमानेर भोकै परेको पीडा पोखे ।

‘बाटोमा खिचडी भात पिरो भएर बच्चाले खाएन, बिस्कुट र पानी खुवाएँ’ राधाले सुनाइन् । खेतीपातीको काम सकिएपछि श्रीमानश्रीमती नै कमाउन भारत गएका उनीहरू तीनदिन लामो गाडीको यात्राबाट नाकामा आइपुगेका हुन् ।

भारतबाट यसरी आइपुगेका एक दुई जना भोका बच्चा भएका आमाहरूको लाइन गौरीफन्टा नाकामा दिनदिनै थपिइरहेको छ । दुई तीन दिनको गाडीको यात्रा, भीडभाड, कोरोनाको त्राससँगै चर्को गर्मीले थकित र कतिपय बिरामी भइसकेका छन् ।

गौरीफन्टा नाका खुलेको १० दिनमा दैनिक तीनदेखि पाँच हजार जना नेपालीहरू भारतबाट यो नाका भएर भित्रिरहेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले ठ्याक्कै तथ्यांक नरहे पनि भारतबाट नेपाल प्रवेश गर्नेहरुमा करिब ३० प्रतिशत महिलाहरू रहेको बताए ।

उनीहरु कतिपय श्रीमान् र बच्चासँगै हुन्छन् भने केही सानो बच्चा बोकेर एक्लै समेत आइरहेका छन् । नेपाल आउनेहरू अधिकांश सुदूरपश्चिम प्रदेशका छन् भने केही कर्णाली र अन्य प्रदेशका पनि छन् ।
कोरोनाभाईरसबाट बच्नको लागि मुलुकमा बन्दाबन्दी भएपछि सीमानाका बन्द गरिएको थियो । बन्दाबन्दीका कारण भारतमा नेपालीको विजोग भएपछि पछिल्लो पटक ७ जेठदेखि नियमित रुपले गौरीफन्टा नाका खुल्ला गरिएको छ । नाकामा आइपुगेकालाई कैलालीका उद्योगी व्यवसायीहरूले निःशुल्क खाना खुवाउने गरेका छन् ।