कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो, ६ जनाको मृत्यु
काठमाडौं, १६ जेठ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ ।
शुक्रबार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार सबैभन्दा बढी रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसतै कपिलवस्तुमा ५१ र झापामा २८ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमित भएर ६ जनाको मृत्यु भईसकेको छ । यही जेठ १० गते मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । नेपाल प्रवेश गरेसँगै उनको स्याम्पल लिइएको थियो । मृत्यु भएको ५ दिनपछि रिपोर्ट आएको हो ।
यस्तै हालसम्म २०६ जना कोरोना निको भएर घर फर्किएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेमा १६२ पुरुष र ४४ महिला छन् ।













