स्वास्थ्य सामग्री सहयोग

हसुलिया, १३ जेठ । केयर नेपालको आर्थिक सहयोगमा सीएसएसडीले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम अभियानलाई सहयोग पु¥याउने उद्देश्यले सो संस्थाले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । सीएसएसडीका चेतमान साउँदले आज गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

सीएसएसडीले व्यक्तिगत सुरक्षा पोशाक चार थान, सर्जिकल मास्क ७०० थान, डिस्पोजल टोपी ७५ थान, डिस्पोजल पञ्जा ४५० जोडा, इन्फ्रारेड थर्मोमिटर तीन थान सहयोग गरेको छ । यसैगरी, जुत्ता ७५ जोडा, सेनिटाइजर चार, हात धुने साबुन (लिक्वीड) २० थान लगायतको सामग्री सहयोग गरेको गाउँपालिकाका आइटी कर्मचारी रविन्द्र चौधरीले जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरणको क्रममा गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, स्वास्थ्य संयोजक विरेन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।