थप ७२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ६७५ पुग्यो

काठमाडौं, १२ जेठ । सोमवार बिहान थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गरि थप ७२ जनामा संक्रमण देखिएको पुष्टि गरे । नयाँ संक्रमणसँगै नेपालमा संक्रमितको संख्या ६७५ पुगेको छ ।

यो तथंयाक अहिलेसम्मकै उच्च हो । मन्त्रालयले जारी गरेको सूचना अनुसार, काठमाडौंमा तीन संक्रमित पुष्टि भएको छ । टोखा नगरपालिका–४, ५ र ६ का २७, ४१ र ३७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

धनुषामा तीन जना, बारामा दुई जनामा संक्रमण देखिएको छ । रौतहटमा २६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, धनुषा र रौतहटका संक्रमित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका सप्तरीका दुई जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य प्रतिष्ठानमा परीक्षण गरिएका बर्दियाका एक जना, बाँकेका चार जनामा संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा परीक्षण गरिएका बाराका २१ जनामा संक्रमण देखिएको छ । दैलेखमा सात जनामा संक्रमण देखिएको छ ।