काँखमा बच्चा च्यापेर नेपाल फर्किने महिलाहरूको विजोग

कैलाल, ११ जेठ । सुदूरपश्चिममा आइतबार करिब चार हजार नागरिकको उद्धार गरिएको छ। रोजगारीको शिलशिलामा भारत गएका नेपालीहरु बन्दाबन्दीको कारण नेपाल आउने गरेका हुन् ।

उनीहरु भारतको विभिन्न ठाउँबाट काँखमा बच्चा बोकेर रातदिन भोकभोकै नेपाल भारतको सीमाना गौरीफन्टा नाका आईपुगेका हुन् । धेरै दिनको भोक र थकानले थकित भएकालाई धनगढीका मनकारीहरुले चाउचाउ, विस्कुट, पानी जुस खुवाएर भोको पेटलाई राहत दिलाएका छन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट मात्रै आइतबार तीन हजार ९ सय ८८ जनाको उद्दार गरिएको बताएको छ । जहाँ धेरै महिलाहरु काँखमा बच्चा सहित नेपाल भित्रिएका हुन् । उनी धेरै दिनदेखि भोकभोकै रहेको जनाइएको छ ।

यस्तै शनिबार पनि २५ सय ७९ जना नेपाली नागरिक नेपाल भित्रिएका थिए। आइतबार पनि सीमा नाकाको अवस्था अस्तब्यस्त नै रह्यो। दुई देशका स्थानीय प्रशासनका अधिकारीबीच भएको सहमति अनुसार आइतबार पनि दिउँसो १२ बजेदेखि नाका खुला गरिएको हो।

भारतबाट घर फर्किनेको संख्या दिनानुदिन बढिरहेका बेला, यसअघिको जत्तिको तयारी पनि सीमा क्षेत्रमा हुन सकेको छैन। शनिबार अघि भारतबाट आएकाको नाम ठेगानासहितको तथ्यांक राखिएकोमा, शनिबारबाट भने जिल्लाको नाम मात्रै टिपेर आउन दिने गरिएको छ।