चोरीमा संलग्न व्यक्ति दुई कार, मोबाईल र नगदसहित पक्राउ
धनगढी, ९ जेठ । जिल्ला प्रहरी कार्यालय कैलालीले दुई कार, मोबाईल र नगदसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने १६ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
ती युवकले यही जेठ ३ गते सो उपमहानगरपालिका–४ उतरबेहडी बस्ने राजेन्द्रबहादुर मल्लले आफ्नै घर अगाडि सडकमा पार्किङ गरिराखेको बा ८ च २१०० नं.को कार र ७ गते सोही ठाउँबाट रातिको समयमा रवीन्द्रदेव भट्टको कोठा भएको घरआँगनमा राखेको बा १४ च ४७८१ नंको कार चोरी गरेको उनले बताए ।
प्रहरीले नगद रु १२ हजार ४७०, विभिन्न कागजात र दुई थान मोबाइलसमेत बरामद गरेको जनाए । निजले अन्य स्थानमा समेत चोरी गरेको हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिले यस कार्यालयमा सम्पर्क राख्न हुनसमेत अनुरोध गरिएको जनाइएको छ ।













