कोरोना अपडेट : एक हप्ता भित्रै तीन जनाको मृत्यू, मुलुकभर स‌ंक्रमितको संख्या ४ सय ४४ पुग्याे

काठमाडौं, ८ जेठ । नेपालमा कोरोको भाईरस (कोभिड १९) तिब्रगतिले फैलिरहेको छ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको बिहीवार बिहान मृत्यु भएको छ । पछिल्लो एक हप्ता भित्रै मुलुकभर तीन जनाको मृत्यू भइसेको छ ।

गुल्मी जिल्लाको मदाने गाउँपालिका–६ पुरकोटदह घर भई देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक (हेडसर) रहेका उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए ।

बुधवार नै उनको मृत्यु भएको केही मिडियामा समाचार आएपछि अस्पतालले खण्डन गरेको थियो ।
शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारत थिए ।

कोरोना पुष्टि भएपछि बिरामी सार्ने प्रक्रियामा जोखिम हुनसक्ने भन्दै प्रदेश सरकारका अधिकारीले क्रिमसन अस्पताल प्रशासनलाई अनुरोध गरेपछि उनको त्यहीँ नै उपचार भएको थियो । यसअघि जेठ ३ गते सिन्धुपालचोक घर भएकी एक सुत्केरी महिला र त्यसको अर्को दिन बाँकेको नरैनापुरको क्वारेन्टाइमा रहेका १ युवाको पनि मृत्यु भएको थियो ।

कोरोना भाईरसबाट बिहीवार थप १७ जना संक्रमित भएको पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठिान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरीएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो ।