अनुदानमा किसानलाई कृषि यन्त्र र उपकरण
हसुलिया, ५ जेठ । कैलालीस्थित कैलारी गाउँपालिकाको वडा नम्बर ७ मा रहेको हरियाली गहुँ पकेट क्षेत्रका किसानलाई अनुदानमा कृषि यन्त्र र उपकरण प्रदान गरिएको छ ।
मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा किसानलाई कृषि यन्त्र र उपकरण प्रदान गरेको हो । यन्त्र र उपकरणमा किसानको ५० प्रतिशत लगानी रहेको जनाइएको छ ।
सोमबार एक कार्यक्रमकाबीच हरियाली गहुँ पकेट सञ्चालन समितिमार्फत किसानलाई सो कृषि यन्त्र र उपकरण वितरण गरिएको हो । २१ वटा पावर टिलर, २० वटा रिपर र दुई वटा सीड ड्रिल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।
समितिका सभापति पार्वती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष चौधरी, विशिष्ट अतिथि वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरी रहेका थिए ।
यन्त्र, उपकरण वितरण अवसरमा कृषि ज्ञान केन्द्रका भूमिराज उपाध्याय, रामचन्द्र भट्ट, रणबहादुर मल्ल, सीमा प्रहरी कार्यालय रामपुरका प्रतिनिधि राजेन्द्र चौधरी, आइपीएम प्लान्ट डाक्टर सम्झना चौधरी, अर्जुन चौधरी र हरियाली कृषि सहकारीका अध्यक्ष लेखराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।













